बागमती प्रदेशमा कृषि उत्पादन र खेती गरिने क्षेत्र घट्दै
हेटौंडा- बागमती प्रदेशभित्र कृषिउत्पादन र खेती गरिने क्षेत्र घट्दै गएको देखिएको छ । यस्तै प्रदेशभित्रका मुख्य बालीको उत्पादनमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक वर्ष २०८१÷८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । २०८१÷०८२ मा बागमती प्रदेशको कुल ग्राहस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ११.८ प्रतिशत रहने प्रारम्भिक अनुमान प्रतिवेदनमा उल्लेख छ । जुन गतवर्षको तुलनामा कम रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्रिय अर्थतन्त्रको समग्र कृषिक्षेत्रमा भने बागमतीको हिस्सा १७.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल भने ५.१ प्रतिशतले बढेको छ । मसलाबालीले ढाकेको क्षेत्रफल ४५.५ प्रतिशतले उल्लेखनीय वृद्धि भएको छ । तर, फलफूलबालीले ढाकेको क्षेत्रफलमा ५.९ प्रतिशतले गिरावट आएको छ ।
गत आर्थिक वर्षमा प्रमुख कृषिबालीले ढाकेको कुल क्षेत्रफल ५.८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ, अघिल्लो आर्थिक वर्षमा भने एक प्रतिशतले वृद्धि भएको थियो । प्रतिवेदनले मुख्यरुपमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्र ७.५ प्रतिशतले घटेको देखाएको छ । प्रतिवेदनअनुसार मुख्य खाद्यान्नमध्ये धानबालीले ढाकेको क्षेत्रफल २.९ प्रतिशत, मकै ६.६ प्रतिशत, गहुँ ५.० प्रतिशत, कोदो ५.१ प्रतिशत, फापर १६.१ प्रतिशत र जौ २५.६ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा आलु, तेलहन, दलहन र भटमास बालीले ढाकेको क्षेत्रफलमा पनि क्रमशः ११.९ प्रतिशत, १९.८ प्रतिशत, २४.५ प्रतिशत र २६.२ प्रतिशतले कमी आएको छ ।
समग्र कृषिबालीको उत्पादन ०.८ प्रतिशतले बढे पनि खाद्य तथा अन्य बालीको उत्पादन ६.५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । प्रमुख खाद्यान्नबाली मध्ये कोदोको उत्पादन ५.२ प्रतिशतले बढेको छ । तर, धान उत्पादन १.१ प्रतिशतले, मकै ५.० प्रतिशत, फापर ५.१ प्रतिशत, गहुँ १८.५ प्रतिशत र जौ ३२.६ प्रतिशतले घटेको छ । गैरखाद्यान्न बालीमा आलुको उत्पादन ८.३ प्रतिशतले बढे पनि भटमास, तेलहन र दलहन बालीको उत्पादन क्रमशः १२.३ प्रतिशत, २१.० प्रतिशत र २७.२ प्रतिशतले घटेको छ ।
तरकारी तथा बागवानीको उत्पादन १६.२ प्रतिशतले बढेको छ, यो प्रदेशको कुल कृषिउत्पादनको ३१.५ प्रतिशत हिस्सा हो । फलफूल उत्पादन १.९ प्रतिशतले घटेको छ भने मसला उत्पादन ४४.१ प्रतिशतले बढेको छ । जिल्लागतरुपमा खाद्य तथा अन्य बालीको उत्पादनमा काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी १६.९ प्रतिशत र भक्तपुरको सबैभन्दा कम २.७ प्रतिशत छ । तरकारी तथा बागवानी उत्पादनमा चितवनको हिस्सा सबैभन्दा बढी २१.३ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षमा बागमती प्रदेशमा दूध उत्पादन १.२ प्रतिशतले र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन २.७ प्रतिशतले बढेको छ । माछा उत्पादन २.८ प्रतिशतले घटेको छ । वनजन्यतर्फ काठ उत्पादनमा ५२.४ प्रतिशत र दाउरा उत्पादन २९.१ प्रतिशतले वृद्धि भएको छ । जिल्लागतरुपमा दूध उत्पादनमा काभ्रेपलाञ्चोकको योगदान २२.३ प्रतिशत (सबैभन्दा बढी) छ भने मासु उत्पादनमा चितवन १८.६ प्रतिशत र अण्डा उत्पादनमा पनि चितवनकै ४२.२ प्रतिशत हिस्सा प्रमुख रहेको छ । यस्तै माछा उत्पादनमा पनि चितवनको हिस्सा ८३.८ प्रतिशत रहेको छ ।बागमती प्रदेशमा कुल खेती गरिएको क्षेत्रफल ३ लाख ४५ हजार ३ सय ४० हेक्टरमध्ये ४७.० प्रतिशत अर्थात् १ लाख ६२ हजार २ सय ९३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
यस्तै २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले वृद्धि भई १ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । प्रतिवेदनअनुसार कुल प्रवाहित कर्जाको ३.७ प्रतिशत कृषिक्षेत्रमा गएको हो । कृषि कर्जामध्ये काठमाडौँ जिल्लाको हिस्सा ५२.६ प्रतिशत र चितवनको २३.१ प्रतिशत छ ।







