धूलो दूध कारखानामा कृषिमन्त्री पौडेलद्वारा निरीक्षण
हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले धूलो दूध कारखानाको निरीक्षण गरेका छन् । प्रदेश सरकारको ४७ करोड रुपैयाँको लागतमा निर्माण भएको भएपनि सञ्चालन कार्यविधि तयार नहुँदा परीक्षण उत्पादनमै सीमित रहेको यो कारखानाको अवस्था बुझ्न बिहीबार मन्त्री पौडेल निरीक्षणमा पुगेका हुन् । यसअघि २०८० सालमा नै परीक्षण उत्पादन सुरु भएको यो कारखानाको पूर्ण सञ्चालनका लागि आवश्यक कार्यविधि तथा मोडालिटी तयार गर्ने प्रक्रिया लामो समयदेखि जारी छ । निरीक्षणपछि मन्त्री पौडेलले करिब ४७ करोडको लागतमा निर्माण भएको धूलो दूध कारखाना अहिले परीक्षण उत्पादनमै सीमित रहेको अवस्थामा रहनु, ठूलो लगानी जोखिममा पर्ने सम्भावना रहेकोले यसको सञ्चालन मोडालिटी र कार्यविधि तयार पार्ने कामलाई आफूहरुले अन्तिमचरणमा पु¥याएको बताए ।
उनले निरीक्षणको उद्देश्य यसको भौतिक र प्राविधिक अवस्था बुझेर, छिटोभन्दा छिटो कार्यविधि तयार गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने सुनिश्चित गर्नु रहेको बताए । यस्तै मन्त्री पौडेलकाअनुसार कारखाना सञ्चालनमा आउँदा प्रदेशभित्र दूधको अधिक उत्पादन भएको बेला किसानले दूध सडकमा पोख्नुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यताको अन्त्य हुनेछ र यसले दुग्ध किसानलाई उचित मूल्यको सुनिश्चितता प्रदान गरी प्रदेशको कृषि अर्थतन्त्रमा ठूलो टेवा पु¥याउनेछ । उनले कारखानामा जडान गरिएका उपकरण, भण्डारण क्षमता र हाल भइरहेको परीक्षण उत्पादनको अवस्थाबारे जानकारी लिएपछि कारखानालाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न आवश्यक कार्यविधि छिट्टै स्वीकृत गर्ने बताए ।
कारखाना स्थापना भएपछि प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारखानाबाट धूलो दूध परीक्षण उत्पादनका लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई जिम्मा दिएको थियो । विसं २०७७ मा निर्माण सुरु भएको कारखानाबाट २०८० साल मङ्सिरबाट परीक्षण उत्पादन सुरु गरिएको थियो ।कारखाना स्थापनाका लागि विसं २०७७ पुस १ गते इजीइन्फ्रा प्रालिसँग ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा एक वर्षमा निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । तर, कोरोना महामारी लगायत कारणले तीनपटक म्याद थप भएको थियो । पटकपटक म्याद थप हुँदा सुरुआती ४१ करोड २२ लाख रुपैयाँ लागत बढेर ४७ करोड रुपैयाँ पुगेको प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।







