रिकभरिङ नेपालको १९ औँ वार्षिक साधारणसभा
हेटौंडा-रिकभरिङ नेपालको १९ औँ वार्षिक साधारणसभा तथा राष्ट्रियभेला बिहिबार हेटौंडामा सम्पन्न भएको छ ।बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले प्रदेश सरकारले लागुऔषधसम्बन्धी नीति तथा कार्यक्रम निर्माणमा विशेष प्राथमिकता दिने र सो कार्यको नेतृत्व स्वयम् आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रिकभरिङ नेपाल केन्द्रीय समिति अध्यक्ष दिलीप गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीना लामा, राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईं, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय भेलामा देशभरका सातै प्रदेशका प्रदेश समिति र प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो । पुरानो कार्यसमितिले उत्कृष्ट कार्यसम्पादन गरेको उच्चमूल्यांकन गर्दै राष्ट्रिय भेलाले सर्वसम्मतरुपमा सोही समितिलाई आगामी कार्यकालका लागि पुनः निर्वाचित गरेको छ ।







