कैलाशमा आमासुरक्षाका लागि वेइटिङ कक्ष सञ्चालन

साझाकुरा
२०८२ कार्तिक ३०, शनिबार १४:२७

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक वडा नम्बर ७ ङिको स्वास्थ्यचौकीमा आमासुरक्षाका लागि पर्खिने घर (वेइटिङ कक्ष) सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले वेइटिङघर उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गर्भवती महिलाको अधिकारको विषय रहेकाले पनि घरको निर्माण गरिएको बताए । गाउँपालिकाको प्रत्येक वडाबाट स्वास्थ्यसेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाको लागि थप सुरक्षा होस् भन्ने हेतुले खाना बस्नको सुविधासहित घर निर्माण गरिएको उनले बताए । वर्थिङ सेन्टर सञ्चालनले घरमा सुत्केरी हुनेको संख्या कम हुँदै गइरहेको बताउँदै उनले अब सुत्केरी व्यथा लाग्नुअघि नै एक दुईदिन अघिदेखि स्वास्थ्य सुरक्षाको लागि वेइटिङ कक्षमा आउन आग्रह गरे ।

सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको वडामा विस्तारै स्वास्थ्य चेतनावृद्धि हुँदै गइरहेको अध्यक्ष मुक्तानले बताए । गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भपरीक्षण कार्य भइरहेको पनि छ, होम डेलीभरी शुन्यतामा ल्याउन गाउँपालिका अग्रसर रहिरहेको उनले बताए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम गाउँमा भौगोलिक विकटता रहेको स्थानमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको बताए । प्रदेश सरकारको विशेष अनुदानअन्तरगत गत आर्थिक वर्षको वार्षिक कार्यक्रममा यस घर निर्माण गरेको प्रमुख श्रेष्ठले बताए ।

टाढाबाट आउँदा खान र बस्न समस्या हुने अवस्था रहेकाले यस स्वास्थ्यचौकीमा एककोठे घर निर्माण गरिएको उनले बताए । स्वास्थ्यसंस्थामै सुत्केरी गराउनसके आमा र बच्चाको स्वास्थ्यअवस्था जाँच गरी थाहा पाउन सकिने भएकाले स्वास्थ्यचौकीमै सुत्केरी गराउन उनले अनुरोध गरे । घर निर्माणले सेवाप्रवाहमा थप टेवापुग्ने वडा ७ का अध्यक्ष उदासकुमार भोलनले बताए । ‘हामीले यसअघि पनि खाना खुवाउने र राख्ने गरेका थियौं, घर निर्माणले सहज बन्ने छ’ उनले भने । वडाध्यक्ष भोलनकै अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखाप्रमुख तीलकप्रसाद गौतम, वडासचिव युगचन्द्र भट्टराई, स्वास्थ्यचौकीका प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो । घर जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बस्न र खानको लागि आवश्यक सामग्री यो घरमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*