बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण

साझाकुरा
२०८२ कार्तिक ३०, शनिबार १४:३७

हेटौंडा- पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १०४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।गाउँपालिकाले वडा १ का ४३ जना, वडा २ का ३० जना र वडा ६ का ३१ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो । वडा ६ मा कात्तिक २६ गते र वडा १ तथा २ मा कार्तिक २७ गते लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीलगायत प्रतिनिधिले लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

लालपुर्जा वितरण गर्दै अध्यक्ष घलानले भूमिअधिकार हरेक नागरिकको आधारभूत हक भएको भन्दै भूमिहीन, दलित तथा सुकुम्वासी परिवारलाई सुरक्षित बसोबास सुनिश्चित गर्न यो कदम चालिएको बताए । गाउँपालिकाले विद्युत्, सडक, खेलकुद, स्वास्थ्य र शिक्षालगायत विकासका क्षेत्रमा समान प्राथमिकता दिइरहेको उनले जिकिर गरे । पालिकाले हालसम्म तीनचरणमा १५४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिसकेको छ । पालिकाले १, २, ३, ४, ५ र ६ नं. वडामा जग्गाको नापजाँच गरी जग्गाधनी पुर्जा वितरण गरेको स्थानीय विवेक सिङ्तानले जानकारी दिए ।

पालिकाले बाँकी रहेको ७ र ९ नं. वडामा पनि धमाधम जग्गाको नापजाँच कार्य गरिरहेको छ । जग्गाधनी पुर्जा नहुँदा बैंक तथा वित्तीय प्रयोजन तथा अन्य कामका लागि भोग्दै आएको समस्या घट्ने भएपछि जग्गाधनी पुर्जा पाएसँगै स्थानीयवासी खुसी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*