युवापुस्ता भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रम कार्की

साझाकुरा
२०८२ मंसिर १, आईतवार १०:५६

हेटौंडा- प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताएकी छिन् । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा प्रम कार्कीले यस्तो बताएकी हुन् ।कार्यक्रममा प्रम कार्कीले भनिन् ‘यस आन्दोलनले हाम्रो युवापुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो । मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’ नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गरिन् ।

अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रुपान्तरण प्रतिको समर्थन मूल्यवान् रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नैनिरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्वपूर्ण क्षेत्रमा दशकौंदेखिको सहकार्यका लागि आभार व्यक्त गरिन् । उनले भनिन्, ‘नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्वपूर्ण योगदान पुगेको छ ।’

नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरुमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उनले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताइन् । उनले भनिन्, ‘नेपालले क्षेत्रीय तथा विश्वशान्ति र स्थिरतालाई अत्यन्त महत्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्दछ ।’ पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उनले प्रशन्नता पनि व्यक्त गरिन् ।

‘अस्ट्रेलियासँगको बढ्दो व्यापार र लगानीका लागि हामी कृतज्ञ छौँ,’ उनको भनाइ थियो, ‘नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्तति हुने लक्ष्य पूरा गर्न द्रुतगतिले अघि बढिरहेको छ । यस महत्वाकांक्षी राष्ट्रिय लक्ष्यप्राप्तिका लागि प्रदान भइरहेको अस्ट्रेलियाको निरन्तर सहयोग हामी कृतज्ञतासाथ स्वीकार गर्छौँ ।’ समर्पण तथा व्यक्तिगत संलग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*