जनजागृतिको सभा, २ करोड ५९ लाखको कारोबार

साझाकुरा
२०८२ मंसिर १, आईतवार १०:५८

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५ सिमलटारमा अवस्थित जनजागृति बहुउद्देश्यीय सहकारी संस्था लिको २८ औँ वार्षिक साधारणसभा भएको छ । संस्थाका अध्यक्ष हीरामणि दाहालको सभाध्यक्षता तथा संस्थाका शेयरसदस्य एवम् वडाअध्यक्ष दिपेश दाहालको आतिथ्यतामा सभा भएको हो । २ करोड ५९ लाख ४५ हजार ५०१ रुपैयाँ बराबारको कारोबार गरेको सहकारीको शेयरपुजीँ २ लाख २१ हजार तीन सय रहेको व्यवस्थापक राजन घिमिरेले बताए । दुग्ध संकलन र विक्रीका साथै बचत ऋणको कारोबार गर्दै आइरहेको सहकारीले सदस्यलाई ३२ लाख ५६ हजार २०४ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप ३० लाख ६१ हजार ९५० रुपैयाँ रहेको व्यवस्थापक घिमिरेले बताए ।

सभामा उनले चालु आवमा २ करोड ७ लाख ६ हजार पाँच सयको आयव्यय प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१÷८२ मा संस्थाले दुई लाख ३६ हजार ७ सय लिटर दुध खरिद÷बिक्री गरेको छ । सभाकै अवसरमा संस्थाले विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । नियमित दुध बिक्री गर्ने झम्ककुमारी घिमिरे, सरसफाई दुध बिक्री सन्तबहादुर थिङ, गुणस्तर दुध बिक्री गर्नेहोमबहादुर भ्लोन, ९० वर्षसम्म पनि सक्रिय दुध बिक्री गर्ने देवीप्रसाद घिमिरेलाई सम्मान गरिएको हो ।

पाँच हजार लिटर भन्दा बढी दुध बिक्री गर्ने लक्ष्मण दाहाल, देवीप्रसाद घिमिरे, यटबहादुर बस्नेत, प्रेमप्रसाद दुलाल(ख), शंकरनाथ अधिकारी, मानबहादुर बस्नेत, सोमप्रसाद दुलाल, यसोदा तिमल्सिना, गोमा मोक्तान, अशोक स्याङ्तान र लेखनाथ ढुंगानालाई पुरस्कृत गरिएको व्यवस्थापक घिमिरेले बताए । त्यस्तै, नियमित दुध खरिद गर्ने जय बिन्दाबासिनी पशुफर्म, नियमित बचत गर्ने नारायण दाहाल र असल ऋणी कृष्णप्रसाद चौलागाईलाई पुरस्कृत गरिएको थियो । सभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, संस्थाका पूर्वअध्यक्ष दीर्घबहादुर थापा, लिलानाथ अधिकारी, देवकुमारी विष्ट, दुर्गाराज बजगाई, भीमबहादुर अधिकारी, ईन्द्रबहादुर बस्नेत, लेखा समितिका संयोजक मोतिराम छत्कुली लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*