४ सय भन्दा बढीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया
हेटौंडा-हेटौंडा सामुदायिक आँखा अस्पतालले पर्सा जिल्लाको पर्टेवासुगौली गाउँपालिकाको निचुटामा ४ सय जनाभन्दा बढीको आँखाको मोतिबिन्दु शल्यक्रिया गरेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको समन्वय एवम् कियोर ब्लाइन्डनेश प्रोजेक्टको सहयोगमा गत शनिबारदेखि सोमबासम्म ३ जना चिकित्सकसहितको टोलीले निचुटामा ४ सय ७ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । तिलगंगा आँखा प्रतिष्ठान, हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. मोहिनी श्रेष्ठको टोलीले शल्यक्रिया गरेको थियो ।
टोलीले अघिल्लो शुक्रबार नै पर्साको जिराभवानीपुर, जगन्नाथपुर, ठोरी, सखुवापर्सौनी, पर्टेवासुगौली गाँउपालिका र पोखरिया नगरपालिकामा निःशुल्क आँखा शिविर आयोजाना गरी मोतिविन्दुका बिरामी छनोट गरेको थियो ।आँखा शिविरमा २ हजार ३ सय जनाको आँखाजाँच भएकोमा ५ सय १४ जना मोतिविन्दुका बिरामी भेटिएको सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासन प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए । हेटौंडा सामुदायिक आँखा अस्पतालले पर्टेवासुगौली गाउँपालिकाको निचुटामा आँखा केन्द्र सञ्चालनगरी आँखाको चेकजाँच तथा सामान्य शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।







