नमूनाप्रगतिको २५ वार्षिक साधारणसभा सम्पन्न

साझाकुरा
२०८२ मंसिर १, आईतवार ११:१५

हेटौंडा- हेटौंडा–२ स्थित नमुनाप्रगति बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार २५ औं वार्षिक साधारण सभा भएको छ ।हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिका कार्यक्षेत्र रहेको यस सहकारी संस्थाले प्रमुखअतिथिबिना नै साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा सहकारीका अध्यक्ष मीठाराम दाहालले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष केशवप्रसाद देवकोटाले आर्थिक प्रतिवेदन पेश गरेका हुन् । आगामी वर्ष संस्थाको कार्यालयमा नमुनाप्रगति पुस्तकालय स्थापना गर्ने र प्रविधियुक्त सामग्री खरिद गरिने अध्यक्ष दाहालले बताए । समुदायमा र सदस्यको सेवा पहुँचविस्तार गर्न यसवर्ष ३ सय सदस्य थप गर्ने लक्ष्य रहेको उनले बताए ।

संस्थाले यसवर्ष जेष्ठ सदस्यतर्फ डोरमणि पौडेल र यसोदादेवी चौरेल, उत्कृष्ट बचतकर्तातर्फ सुर्दशन अधिकारी र गीता मुक्तान, उत्कृष्ट ऋणीतर्फ कविता खड्का र विनोदप्रसाद दाहाल, बालबचततर्फ अनुगम रिमाल र अंशु काफ्ले, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ उज्जवल रेग्मी र संस्थागत विद्यालयतर्फ सृष्टी दवाडी, प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने सविन दाहाल र सफल अधिकारी, स्नात्तकतर्फ उत्कृष्ट नतिजा ल्याउने सदीक्षा धिमाल, स्मृति दाहाल, रोशन पौडेल र आभाष श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

यो सम्मान आमाखुवाउने औशींको अवसरमा २०८३ वैशाख ३ गते प्रदान गरिने भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा संस्थाले लक्ष्यको ८१ दशमलब ९३ प्रतिशत आम्दानी र खर्च पनि लक्ष्यको ८१ दशमलब ९३ प्रतिशत गरेको छ । २ करोड ९१ लाख शेयरपुँजी र ३ करोड ६४ लाख संस्थागत पुँजी रहेको संस्थामा कुल सदस्य संख्या १ हजार १ सय ६८ जना महिला, १ हजार ४ सय ९६ जना पुरुष र संस्थागत ६ जना गरी कुल २ हजार ६ सय ७० रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*