सुपिङका युवा व्यावसायिक किवीखेतीमा

साझाकुरा
२०८२ मंसिर १, आईतवार ११:१६

हेटौंडा-भीमफेदी गाउँपालिका–५, सुपिङका युवाले व्यावसायिकरुपमा किवीखेती गरेर राम्रो सफलता हासिल गरेका छन् ।बागमती प्रदेश सरकारको ‘एकवडा, एकउत्पादन’ कार्यक्रम अन्तर्गत सञ्चालित यो खेतीले गाउँमा रोजगारी र आम्दानी दुबै बढाएको छ । उचित स्याहार, गोडमेल, मलजल गरे एउटै बोटबाट ५० किलोसम्म किवी फलाउन सकिने किसान सुरज थिङले बताए ।थिङले किमुशेरी ग्रुप प्रालिमार्फत अन्य दुईजना युवाको साझेदारीमा करिब दुई करोड रुपैयाँ लगानी गरी करिब ७० रोपनी क्षेत्रफलमा किवीखेती सुरु गरेका हुन् । २०७८ सालदेखि थालिएको खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । हाल फार्ममा हेवार्ड, एलिसन, बुर्नु, रेड र गोल्डेन गरी पाँच जातका ११ सयभन्दा बढी बोटमा किवी लगाइएको थिङले बताए ।

बहुवर्षीय बाली भएकाले एकपटक रोपेपछि ४०–५० वर्षसम्म फल दिने बताइएको छ । गतवर्ष करिब ३ टनभन्दा बढी किवी उत्पादन भएको थियो । यसवर्ष मौसमको कारण उत्पादन घटेपनि आगामी वर्ष उत्पादन करिब २० टन पुग्ने उनको अनुमान रहेकोे छ । ‘पर्याप्त मल र पानी, गोडमेल भयो भने एउटै बोटबाट पनि राम्रो आम्दानी लिन सकिन्छ,’ थिङले भने, ‘अहिले राम्रो उत्पादन दिनथालेको छ । यो बहुबर्षे बाली भएकाले ४०–५० वर्षसम्म फल दिनसक्छ ।’ सुपिङमा उत्पादित किवी काठमाडौं, पोखरा, चितवन र हेटौंडालगायत बजारमा बिक्री भइरहेको छ । हाल किवीको मूल्य प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँसम्म रहेको छ ।

ग्रेडिङ गरेर बेमौसमी समयमा बजारमा लैजाँदा अझ राम्रो मूल्य पाइने थिङले बताए । १५ वर्षका लागि जग्गा भाडामा लिएर गरिएको खेतीले अहिले बजारमा राम्रो स्थान पाएको छ । ‘किवीको माग राम्रो छ, यहाँ उत्पादन भएको किवी काठमाडौँ, पोखरा, चितवन, हेटौँडालगायत बजारमा बिक्री हुन्छ, बजारको समस्या छैन,’ उनले भने । सामान्य तापक्रममा पनि दुई महिनासम्म किवी भण्डारण गर्न सकिने भएकाले बजार व्यवस्थापन सहज भएको उनको भनाइ छ । पौष्टिक र स्वादिष्ट फल मानिने किवीबाट वाइन, जाम, जुस, ड्राई फ्रुटदेखि लिएर सौन्दर्य प्रसोधनका सामग्री समेत बनाउन सकिन्छ ।

प्रदेश सरकारले समुदायमा आधारित कृषिप्रणालीमार्फत् वडालाई कृषिउत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहित सुरु गरिएको कार्यक्रम यस आर्थिक वर्षमा थप २५ वडामा विस्तार गरी ७० वडामा कार्यक्रम सञ्चालन भैरहको छ । यस कार्यक्रमअन्तर्गत प्रदेश सरकारको ६० प्रतिशत, स्थानीय तहको २० प्रतिशत र समुदायको २० प्रतिशत लागत साझेदारी रहेको छ । किवीफल भिटामिन ‘सी’ को राम्रो स्रोत हो । साथै किवीमा फाइबर, पोटाशियम, फोलेट प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टले पनि भरपुर फल हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*