बकरइदको हजयात्रामा मकवानपुरका २ जना सहभागी हुने

साझाकुरा
२०८२ मंसिर २, सोमबार १३:३८

हेटौंडा- इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्कामदिनामा हजका लागि मकवानपुरबाट २ जना साउदीअरब जाने भएका छन् । सन् २०२६ मा नेपालबाट १ हजार २ सय जना हजमा सम्मिलित हुन जान पाउने कोटा रहेकोमा मकवानपुरबाट २ जना सम्मिलित हुन लागेका हुन् । इस्लाम समुदायको बाहुल्यता रहेको स्थानमा धेरै इस्लाम धर्माबलम्बी हजका लागि सम्मिलित हुने भएपनि मकवानपुरबाट आउँदो वर्ष २ जनामात्र सहभागी हुने भएको हज समितिका सदस्य मोहम्मद समिमले जानकारी दिए । हजयात्रामा सहभागी हुन चाहनेका लागि गत भदौ ६ गते गोरखापत्रमा सूचना प्रकाशित भएपनि कोटाभन्दा निकै कम सहभागी हुन इच्छुक देखिएपछि समितिले दुईपटक म्याद थप गरेर मंसिर ५ गतेसम्म फर्म भर्न सूचित गरेको छ ।

हजयात्रामा जाँदा प्रतिव्यक्ति करिब ४ लाख नेपाली रुपैयाँ खर्च हुने भएकाले हजमा सहभागी हुने चाहनेको संख्या कम भएको बताइएको छ । प्रत्येक वर्षजस्तै यसवर्षको पनि हिजरी सम्बतको १२ औं महिनाको १० औं दिन नेपाली क्यालेण्डर अनुसार जेठ महिनामा पर्ने बकरइदमा साउदीअरबमा रहेको मक्का र मदिना सहरमा तीर्थयात्रा अर्थात् हज गर्ने गरिन्छ । बकरइद भन्दा १५ दिन अगाडिदेखि विदेशी मुस्लिम धर्मावलम्बीलाई साउदी सरकारले आफ्नो देशभित्र प्रवेश दिने गर्दछ ।

उनका अनुसार हजयात्री ३२ दिनभित्र आफ्ना धार्मिक आस्थाका क्रियाकलाप सकेर आफ्नो देश फर्कनुपर्ने व्यवस्था रहेको छ । अहिलेसम्म मकवानपुरबाट हजका लागि इच्छुक भई फर्म भरेका व्यक्तिको पनि पासपोर्ट नबनिसकेकाले अझै हजयात्रा सुनिश्चत भइनसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*