बागमती प्रदेशस्तरीय २१ सदस्यीय मानवअधिकार रक्षक सञ्जाल गठन
हेटौंडा- अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । (इन्सेक) बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारका विविध चुनौती, कानून कार्यान्वयन, जातीय विभेद, लै·िकहिंसा, बालअधिकार, पर्यावरणीय हक तथा सङ्क्रमणकालीन न्यायका मुद्दामा प्रभावकारी बहसपैरवी गर्न सञ्जालले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका उपसचिव चन्द्रकान्त चापागाईंले महिला अधिकार, बालअधिकार, शिक्षा, स्वास्थ्य, जातीय विभेद तथा लै·िक तथा यौनिक अल्पसंख्यकका अधिकारका विषयमा सञ्जालले सहकार्य र पहल गर्नुपर्नेमा जोड दिए ।इन्सेक बागमती प्रदेश संयोजक खकुरेल र अधिकृत बरुण बस्यालले मानवअधिकार अभिलेखन, अनुगमन, सामाजिक परिचालन, शिक्षा तथा नीतिगत पैरवीमा संस्थाले गरेको योगदान प्रस्तुत गर्दै सञ्जालले प्रदेशभर ५० ओटा अभियान सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी गराएका थिए । गैरसरकारी संस्था महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्माले मानवअधिकार रक्षकले नागरिकका अधिकार बहाली एवम् उपभोग गर्न पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।
उनले मानवअधिकार रक्षकको भूमिका, अवसर र चुनौतिको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रदेश बालअधिकार समिति सदस्य प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले मानवअधिकार रक्षाका लागि मानवअधिकार रक्षकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताइन् । कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो । भेलाले समितिको सल्लाहकारमा चन्द्रकान्त चापागाई, कमलकुमार विश्वकर्मा, झविन्द्र ज्ञवाली, प्रकाश खतिवडा र रमिला सापकोटालाई चयन गरेको छ । नवगठित २१ सदस्यीय कार्यसमितिको संयोजकमा दीपेन्द्र ढकाल रहेका छन् ।
सञ्जालको सहसंयोजक नातीबाबु धिताल, सचिव सरिता दाहाल, कोषाध्यक्ष अर्जुन श्रेष्ठ, सदस्यहरु रुद्रबहादुर खड्का, विनोद ढकाल, अस्मिता प्रजा, पवित्रा विश्वकर्मा, विन्दा कोइराला, कुमारी वाईबा, आश्मा भण्डारी, गोविन्दप्रसाद न्यौपाने, सुमित्रा आचार्य, कृति पौडेल, अविनास प्रजा, अन्जना गिरी, विमला गोपाली, पवन गौतम, आशिष बुढाथोकी, सीता मल्ल र शारदा चौलागाईं छनोट भएका छन् ।







