मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

साझाकुरा
२०८२ मंसिर २, सोमबार १३:५१

हेटौंडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिको सीमानामा पर्ने बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र नवलपरासीपूर्वको कावासोती–१३ घरभई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन् । वीरबहादुर मोटरसाइकल चालक हुन् भने चन्द्रबहादुर पछाडि बसेका थिए । बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सीमानामा पर्ने बुङ्दल खोलाको पुलबाट करिब ५० फिट तल खसेको अवस्थामा पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थाका दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेको थिए ।स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुग्दा दुवैजनाको मृत्यु भइसकेको थियो । दुर्घटनास्थलको प्रकृति हेर्दा घटना शनिबार रातिको समयमा भएको अनुमान गरिएको एसपी बोहोराले बताए । मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको प्रहरीको अनुमान छ । दुवै शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ । अस्पतालमा शव ल्याइएपछि परिवारजनले पहिचान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*