सहिद बासुदेव घिमिरेका पितालाई मुख्यमन्त्री बानियाँले भेटे
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २०६२÷६३ को जनआन्दोलनका सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेसँग भेटेका छन् ।श्वासप्रश्वाससम्बन्धी समस्याका कारण लामो समयदेखि अस्वस्थ रहनुभएका ८७ वर्षीय घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले मुख्यमन्त्री बानियाँ उनकै निवास मकवानपुरगढी गाउँपालिका–५ पुगेका हुन् । मुख्यमन्त्रीलाई भेट्नासाथ सहिदपिता घिमिरेले छोरा बासुदेव घिमिरेको नाममा निर्माणाधीन प्रतिष्ठान छिटो पूरा गरिदिन आग्रह गरे ।
आफूले छोराको अर्धकदको प्रतिमा सहितको प्रतिष्ठान सञ्चालनमा आएको हेर्ने ठूलो इच्छा रहेको बताउँदै घिमिरेले प्रतिष्ठानका लागि डेढ कठ्ठा जग्गा समेत उपलब्ध गराएको बताए । हरेक निर्वाचनमा उम्मेदवार आशीर्वाद लिन पुग्ने तर, पछि वास्ता नगर्ने गरिएको सहिदपिताले गुनासो गरे ।२०७६ सालबाट निर्माण सुरु भएपनि जग्गा विवादका कारण काम समयमा पूरा हुन नसकेको वडाअध्यक्ष दिपेश दाहालले बताए । माघ १६ गते अगाडि नै काम सक्ने गरी अघि बढाउन मुख्यमन्त्री बानियाँले संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठलाई निर्देशन दिए । अपुग बजेट प्रदेश सरकारले उपलब्ध
गराउने प्रतिबद्धता पनि उनले जनाए ।
मुख्यमन्त्री बानियाँले सहिदको योगदानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउँदैे सहिद सम्मानमा प्रदेश सरकार सदैव तयार रहेको बताए । सहिद परिवारका लागि तत्काल रोजगारको अवसर उपलब्ध गराउनुका साथै सहिद परिवारको मुहारमा मुस्कान ल्याउन आवश्यक सबै सहयोग गर्ने आश्वासन पनि उनले दिए ।सहिद बासुदेव घिमिरेको नाममा सुपारीटार ब्यारेकदेखि बुढीचौरसम्मको करिब ३५ किलोमिटर लामो सडक निर्माण गरिएको छ । जसको १४ किलोमिटरमा स्ल्याव ढलान पूरा भइसकेको छ । यस्तै, मकवानपुरगढी–५, आमभञ्ज्याङस्थित सहिद घिमिरेको घरनजिकको टोल पनि सहिद बासुदेव घिमिरे टोल विकास संस्था नामाकरण गरिएको छ ।
मकवानपुरगढी–५ मा जन्मिएका बासुदेवको २०६२÷६३ मा काठमाडौंको कलंकीमा प्रहरीको गोली लागेर ज्यान गएको थियो । बासुदेवका श्रीमती र एक छोरा छन् । छोरा अध्ययनका लागि विदेशमा छन् भने श्रीमती काठमाडौंमा बस्दै आएकी छन् । सहिदपिता भने माइलो छोरासँग बस्दै आएका छन् । सहिदमाताको चार वर्षअघि निधन भएको थियो ।







