पत्रकार सुरेश रजककी श्रीमतीलाई सुरक्षण मुद्रणमा रोजगारी : सुरेशलाई पत्रकार सहिद घोषणा गर्ने प्रतिबद्धता

साझाकुरा
२०८२ मंसिर ४, बुधबार ११:२३

हेटौंडा-सरकारले दिवंगत पत्रकार सुरेश रजकको श्रीमतीलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।मंगलबार सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारीनिर्देशक देवराज ढुंगानाले मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् । २०८१ साल चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै एक घरभित्र आगजनीमा परी पत्रकार रजकको निधन भएको थियो । सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकार सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे ।

‘पत्रकार सुरेशको क्रियाशील पत्रकारकारुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासंघले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भएपनि रोजगारीको पहल गरिएको छ । यसले थोरै भएपनि सान्त्वना मिल्ने अपेक्षा छ’ उनले भने, ‘सूजन बहिनीले पढ्न चाहनुभयो भने कुनैपनि विषयमा अध्ययन गर्ने चाहना छ भने सम्बन्धित कलेजमा पढाइदिन छात्रावृत्ति, छुट र सजिलोसँग पढ्ने वातावरण मिलाउने मेरो चाहना छ । तपाईंले कुनै कलेजमा अध्ययन गर्ने चाहना छ भने म मेरो व्यक्तिगत र सरकारको तर्फबाट पनि बहिनीलाई सहयोग गर्नेछु । सुरेशलाई पत्रकार शहीदको रुपमा घोषणा गरिनुपर्छ । सरकारको मन्त्रीको हिसावले यो प्रक्रिया बढाउन म प्रतिवद्ध छु ।’

सञ्चारमन्त्री खरेलले दिवंगत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले परिवारका लागि निःशुल्क उच्चशिक्षा अध्ययन गर्ने व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता जनाए । दिवंगत पत्रकार रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमा नै निधन भएका सुरेशको न्यायकालागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*