स्ल्याव ढलानको सुरुवात गर्दै मुख्यमन्त्रीले भनेः काम गर्नेलाई रोज्नुहोस्

साझाकुरा
२०८२ मंसिर ४, बुधबार ११:२५

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेहरुदेखि सचेत रहन आम मतदातालाई आग्रह गरेका छन् । अन्तरिम सरकाले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै आउने भएकाले काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनुपर्ने बताए । मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याव ढलान कार्यको सुरुवात गर्दै मुख्यमन्त्री बानियाँल भने, ‘कुरा धेरै जान्ने तर, काम नगर्नेहरुले फेसबुक र युट्युबमा राम्रा भाषण गर्छन्, काम भने गर्दैन् । जनताले त्यस्तालाई चिनेर कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’ भ्रम सिर्जना गर्ने व्यक्ति र पार्टीलाई गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै उनले ‘तिमीहरुले के गर्यौ, के गर्ने लक्ष्य छ’ भनी सोध्नुपर्ने बताए ।

प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दावी गर्दै उनले आगामी बजेट त्यतै लक्षित हुने बताए । विकाससँगै नागरिकलाई सीप र तालिम प्रदान गरी आयआर्जनसँग जोड्न प्रदेश सरकार लागिरहेको बानियाँले बताए । नागरिकले दिएको मतको अवहेलना नगरी काम गर्ने प्रतिवद्धता उनले जनाए । स्ल्याव ढलान सुरुवात कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँबासीलाई आयआर्जन र सीप प्रवद्र्धन गर्दै स्वरोजगार प्रवद्र्धन गर्न गाउँपालिकाले धेरै काम गरिरहेको बताए । किसानलाई गाईभैँसी पालनमा प्रोत्साहनको लागि दूध बिक्रीको पैसा समयमै भुक्तानी दिलाउन गाउँपालिकाले दुग्ध डेरीसँग सम्झौता गरी काम गरिरहेको उनले बताए ।

दुग्ध किसानलाई अनुदान र समयमै भुक्तानको व्यवस्था गर्दा गाईभैँसी पाल्ने किसानको संख्या बढेको उनको भनाइ थियो । शोकमा परेका विपन्न नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने गरिएको बताउँदै उनले यसले गर्दा आमनागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउँपालिका–१ तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याव ढलान सुरु भएको हो ।

६ मिटर चौडाई र ७ सय ३२ मिटर लम्बाई रहेको सडक स्ल्याव ढलानकार्यको मुख्यमन्त्री बानियाँले कंक्रिट बिच्छ्याउन सुरुवात गराएका हुन् । ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भई गुनी निर्माण सेवाले सडक निर्माणको काम थालेको हो । मनहरी गाउँपालिका १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सडक स्ल्याव ढलान शिलान्यास भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*