व्यवसायिक तरकारी खेती तालिम सकियो

साझाकुरा
२०८२ मंसिर ४, बुधबार ११:२९

हेटौंडा-आरम्भ चौतारी लघुवित्तद्वारा आयोजित २ दिने व्यवसायिक तरकारीखेतीसम्बन्धी तालिम सकिएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड स्थानीय शाखा कार्यालय पालुङले कार्तिक २९ र ३० गते आयोजना गरेको तालिममा ५१ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी महिलालाई ‘लघुउद्यमीको हात आरम्भ चौतारीको साथ’ भन्ने नारा सहित व्यावसायिक कृषिप्रवद्र्धन विषयमा व्यावहारिक सीप प्रदान गरिएको हो ।

तालिमको समापनमा प्रमुखअतिथि वडा नम्बर २ का अध्यक्ष बमबहादुर स्याङ्तानले स्थानीय महिला आर्थिकरुपमा सशक्त बन्दा परिवार र समाज दुवै समृद्ध बन्ने बताउँदै यस्ता सीपमूलक तालिमले आत्मनिर्भरतामा मद्दत पु¥याउने उल्लेख गरे । कार्यक्रममा संस्थाको गल्छी शाखा प्रबन्धक सन्तोष रायमाझीले लघुवित्त संस्थाले नियमितरुपमा समुदायमै पुगेर आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा थाहा नगरपालिका–३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीका विशिष्ट आतिथ्यता रहेको थियो । तालिममा सहभागीले तरकारीखेतीका लागि आवश्यक प्रविधि, बीउबीजन व्यवस्थापन, माटो तयारी, कीरारोग नियन्त्रण, आधुनिक व्यावसायिक खेतीका प्रविधि, बजार व्यवस्थापन तथा आर्थिक योजना बनाउने सीप सिकेका थिए । प्रशिक्षकले व्यावहारिक प्रदर्शनमार्फत् उत्पादन वृद्धि तथा गुणस्तरीय तरकारीखेतीका उपाय आफ्नै बारीमा कार्यान्वयन गर्न सकिने गरी मार्गदर्शन प्रदान गरे ।

तालिममा सिकेका ज्ञान दक्षताले महिलालाई आत्मविश्वास बढाउँदै बारीबाट व्यावसायिक तरकारी उत्पादन गर्न प्रेरित गरेको सहभागीले बताएका छन् । तालिमको समापन समारोहमा संस्थामा उत्कृष्ट कारोबार गर्ने केन्द्र, उत्कृष्ट उद्यमी र उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रमको समापन गर्दै पालुङ शाखाप्रबन्धक महेन्द्र शर्माले महिलाको आर्थिक सबलीकरणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*