चेपाङ समुदायको जीवनस्तर उकास्ने प्रतिबद्धता देखाउनुपर्छ : चेपाङ अगुवा

साझाकुरा
२०८२ मंसिर ४, बुधबार ११:४४

हेटौंडा-चेपाङ समुदायको हकअधिकार, सामाजिक सुरक्षा र आवाससम्बन्धी समस्या समाधानका विषयमा केन्द्रित प्रदेशस्तरीय संवाद मंगलबार हेटौंडामा सम्पन्न भएको छ । राष्ट्रिय महिला आदिवासी जनजाति महासंघका अध्यक्ष निमी शेर्पाको सभाध्यक्षता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संवादमा सहभागी चेपाङ समुदायका अगुवाले दीर्घकालीनरुपमा रोकिएको प्रजा विकास कार्यक्रम फेरि सुचारु गर्नुपर्ने माग गर्दै, राज्यले चेपाङ बस्तीको वास्तविक अवस्था बुझेर तिनको जीवनस्तर उकास्न प्रतिबद्धता देखाउनुपर्ने धारणा राखेका थिए ।

रिद्धीसिद्धी सिमेन्ट उद्योगको चुनढंगा खानी आयोजनाको विस्तारप्रक्रिया गर्दा प्रभावित भएका चेपाङ बस्ती अव्यवस्थित र जोखिमपूर्ण स्थितिमा पुगेको जनाउँदै, ती बस्तीको तत्काल उद्दार, सुरक्षा र पुनस्र्थापना कार्य अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले चेपाङ परिवारको बसोबास अत्यन्तै कमजोर र अस्थिर रहेको उल्लेख गर्दै, समुदायको प्रकृति, भूगोल र आर्थिक अवस्थालाई अध्ययन गरेर छुट्टै चेपाङ जनता आवास कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मन्त्री देवकोटाले चेपाङ समुदाय प्रदेशकै संवेदनशील जाति समूहमध्ये एक भएकाले उनीहरुको आवास, सेवासुविधा र समग्र जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले सरकार प्रभावित बस्तीको उद्दार तथा आवास व्यवस्थापनबारे आवश्यक कदम चाल्न तयार रहेको स्पष्ट पारे । नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, बागमती प्रदेश अध्यक्ष खुशिलाल चेपाङ, मकवानपुर अध्यक्ष महेश चेपाङलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*