फाउन्डेसनले ‘जबजका आयाम’ पुस्तक प्रकाशन गर्दै
हेटौंडा-मदन भण्डारी फाउन्डेसन मकवानपुरले तयार पारेको ‘जबजका आयाम’ नामक पुस्तक प्रकाशनको अन्तिमचरणमा पुगेको छ । नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार जननेता मदन भण्डारीको विचार, दर्शन र बहसलाई समेट्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गर्न थालिएको फाउन्डेसनले जनाएको छ ।फाउन्डेसन मकवानपुरको बैठकमा अध्यक्ष रघुनाथ खुलालले जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी विचार, सिद्धान्त र राजनीतिक यात्रालाई व्यवस्थितरुपमा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको पुस्तकको सम्पादन तथा डिजाइनको काम अन्तिमचरणमा पुगेको बताए ।
अध्यक्ष खुलालका अनुसार पुस्तकमा जबजको सैद्धान्तिक पृष्ठभूमि, ऐतिहासिक विकासक्रम, नेपाली राजनीतिमा यसको प्रयोग, विद्यमान चुनौती तथा भविष्यका सम्भावनाबारे गहिरो विश्लेषण समेटिएको छ । मकवानपुरका स्थानीय विद्वान, अनुसन्धानकर्ता, नेता तथा कार्यकर्ताका धारणासमेत पुस्तकमा समावेश गरिएका छन् । बैठकमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनले प्रकाशन गर्न लागेको ‘जबजका आयाम’ पुस्तकले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबारे अध्ययन बहसलाई थप जीवन्त बनाउने तथा नयाँ पुस्तालाई मार्गदर्शन गर्ने र समसामयिक राजनीतिक बहसलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे ।
सचिवालय बैठकले यसअघि गरेका निर्णय अनुमोदन गर्नुका साथै, बनभोज कार्यक्रम, सदस्यता नवीकरण तथा बितरण लगायत विषयमा महत्वपूण निर्णय गरेको उनले बताए । यस्तै बैठकले फाउन्डेसन मकवानपुरका सदस्य एवम् मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक घनश्याम घिमिरेले विद्यावारिधि गर्न सफल हुनुभएकोमा सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ ।







