इन्द्रसरोबरमा निःशुल्क आँखा शिविर
हेटौंडा- इन्द्रसरोवर गाउँपालिकामा मंगलबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । गाउँपालिकाले मंसिर १९ गतेसम्म वडास्तरीय निःशुल्क आँखा शिविर सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।शिविर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । मंगलबार वडा नम्बर १ स्थित रुपादेवी विद्यालयमा सञ्चालन भएको शिविरमा ६० जनाले आँखा परीक्षण गराउँदा २२ जनालाई औषधि वितरण गरिएको थियो ।
बुधबार वडा नम्बर १ स्थित सर्वाङमा, मंसिर ४ गते वडा नम्बर १ स्थित महालक्ष्मी विद्यालय नयाँगाउँमा, ६ गते वडा नम्बर २ स्थित भालुखर्कमा, मंसिर ७ गते वडा नम्बर २ स्थित छापखोरियामा शिविर हुनेछ । यस्तै, मंसिर ८ गते वडा नम्बर ४ स्थित हुमानेमा, मंसिर ९ गते वडा नम्बर ४ स्थित राकसखोलामा र मंसिर १० गते वडा नम्बर ५ स्थित खड्बुमा शिविर सञ्चालन हुने नेत्रसहायक एनिश कालाखेतीले जानकारी दिए ।
गाउँपालिकाको दुर्गमक्षेत्रका नागरिकलाई लक्षित गरी मंसिर १७ गते वडा नम्बर १ मार्खुस्थित मार्खु स्वास्थ्य चौकी र वडा नम्बर ५ चखेलस्थित चन्द्रगढी आधारभूत स्वास्थ्य चौकीमा शिविर हुनेछ । मंसिर १८ गते वडा नम्बर ३ सिस्नेरीस्थित सिस्नेरी स्वास्थ्य चौकी र वडा नम्बर ४ फाखेलस्थित फाखेल स्वास्थ्य चौकीमा र मंसिर १९ गते वडा नम्बर २ कुलेखानी स्थित कुलेखानी स्वास्थ्य चौकी र ग्रामीण आँखा केन्द्रमा गाउँपालिकाले शिविर सञ्चालन गर्नेछ ।
रोटरी क्लब अफ हेटौंडाको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा यो शिविर सञ्चालन भइरहेको छ । शिविरबाट फेला परेका बिरामीको मंसिर २० गते टोड्केस्थित नागरिक आरोग्य केन्द्रमा शिविर सञ्चालन गरी निःशुल्क शल्यक्रिया गरिने पालिकाले जनाएको छ । बिरामी र बिरामी कुरुवाका लागि खान, बस्न र यातायातको सम्पूर्ण खर्च पालिकाले व्यहोर्नेछ ।







