९ लाख बढी आँखारोगीले सेवा लिए
हेटौंडा- हेटौंडा सामुदायिक आँखा अस्पतालमा हालसम्म ९ लाख १३ हजार २ सय २३ जनाले आँखा जाँच गराइसकेका छन् ।६२ हजार ३ सय ५४ जनाको आँखा शल्यक्रिया गरिएको छ अस्पतालबाट २३ हजार १ सय ३३ जनाले निशुल्क मोतिबिन्दुको शल्यक्रिया सेवा लिएका छन् । हाल ३ जना नेत्र स्वास्थ्य विशेषज्ञसहित सञ्चालन भइरहेको अस्पतालले वार्षिक ५० वटा सामान्य आँखाकोस्वास्थ्यजाँच शिविर सञ्चालन गर्दै आइरहेको प्रशासनप्रमुख सुधीर श्रेष्ठले जानकारी दिए । यस्ता शिविरको आयोजना गर्दै वार्षिक छ हजार आँखाका बिरामीको शल्यक्रिया गर्ने गरेकोमा करिब आधा बिरामी मोतिविन्न्दुका रहेको उनले बताए ।
तिलगंगा आँखा प्रतिष्ठानले हेटौंडामा आँखा अस्पताल स्थापना गरेपछि भक्तपुर र निजगढमा पनि अस्पताल स्थापना र सञ्चालन गर्दै आइरहेको छ । हेटौंडा अस्पताललाई बिरामीको चापको हिसाबले महत्वपूर्ण मानिने गरेको प्रशासनप्रमुख श्रेष्ठले बताए । अस्पतालले हाल यस जिल्लाबाहेक बारा, पर्सा, रौतहट, सर्लाही, चितवन, महोत्तरी लगायत केही भारतीयले सेवा प्राप्त गरिरहेको प्रमुख श्रेष्ठको भनाई छ । अस्पतालले मकवानपुरको मनहरी, बागमती, थाहा नगरपालिका, इन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र बकैया गाउँपालिकामा स्थानीय तहसँगको समन्वयमा आँखा परीक्षण केन्द्र सञ्चालन गरिरहेको छ ।
जिल्लाका स्थानीय पालिकाको विकटक्षेत्रका बासिन्दाले घरपायक सेवा पाएका छन् । हाल यस अस्पतालले आँखाजाँचका साथै आँखाको स्वास्थ्यसम्बन्धी जनचेतना मूलक तालिम सञ्चालन गरिरहेको छ । जसमा महिला स्वयंसेविका, विद्यालयका शिक्षकलाई आँखा बचावटबारे चेतनामुलक तालिम दिने गरिएको छ । अस्पताल बिहिबार मात्रै स्थापनाको १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले वरिष्ठ नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा अस्पताल परिसरमै वार्षिकोत्सव मनाइएको हो ।
तिलगंगा आँखा प्रतिष्ठानले उपत्यका बाहिरकै पहिलो आँखा अस्पतालको रुपमा स्थापना गरेको हेटौंडा सामुदायिक आँखा अस्पताल २०६५ साल मंसिर ४ गते नेपालका लागि तत्कालीन अष्ट्रेलियन राजदूत ग्राहम लेडले उद्घाटन गरेको थिए ।







