मानवसेवा आश्रमका लागि दुलाल परिवारद्वारा १११ बोट केरा रोपियो

साझाकुरा
२०८२ मंसिर ७, शनिबार ०९:२६

हेटौंडा- हेटौंडा–९ स्थित मानवसेवा आश्रममा आश्रय लिइरहेका सेवा प्राप्तकर्ताका लागि दुलाल परिवारले १ सय ११ बोट केरा रोपेका छन् ।हेटौंडा–१७ हटियाका स्थायी बासिन्दा दुलाल परिवारले आश्रमको खाली जग्गामा फलफूल उत्पादन बढाउने उद्देश्यले बिरुवा रोपिएको बताएका छन् । ६७ वर्षीय कृष्णप्रसाद दुलालले आश्रमको अवलोकन गर्ने क्रममा केराका बोट नदेखिएको पाउँदा विदेशबाट आएका छोरामार्फत् १११ वटा केराका बिरुवा रोपेको परिवारले जनाएको छ । परिवारका आशिष दुलाल, माधव दुलाल, देवकी दुलाल गौतम, केशवी दुलाल, इन्दिरा पौडेल, नवराज पौडेल र भीमप्रसाद लामिछानेलगायतले संयुक्तरुपमा रोपेका हुन् ।

मानवसेवामा निरन्तर सक्रिय रहने माधव दुलाल क्यानडास्थित एनआरएनका निवर्तमान अध्यक्ष समेत हुन् । स्वदेश आएको छोटो समयको क्रममा शुक्रबार आश्रमपरिसरमा बिरुवा रोपेर आफ्नो सहभागिता जनाए । दुलाल परिवारले आश्रमका सेवा लाभार्थीका लागि आवश्यक परे भविष्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आश्रमका सञ्चालकहरुले दुलाल परिवारको यो पहलले पोषणसम्बन्धी आवश्यकतामा सहयोग पुग्ने र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*