प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस
हेटौंडा- बागमती सरकारले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्नको लागि सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन (वर्षे) अन्त्य गर्न सिफारिस गरेको हो ।
बैठकले प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गर्न प्रदेशप्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मङ्सिर ३ गते बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको उनले बताए । सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन बोलाउने तयारी गरेको प्रवक्ता तामाङले बताए ।
त्यसैगरी बैठकले एक सचिवको पदस्थापना गरेको छ भने २ जना ११ औँ तह (सचिव) को सरुवा गरेको छ । संघीय सरकारबाट सरुवा भई आएका एक सचिवको पदस्थापन गरेको हो भने प्रदेश सरकारका ११ औँ तहका दुई कर्मचारीको सरुवा गरेको हो । संघीय सरकारबाट सरुवा भई आएका सहसचिव रामबाबु पुरीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडामा नारायणकुमार श्रेष्ठ र तालिम केन्द्र, भण्डारामा सुधीर श्रेष्ठलाई सरुवा गरिएको छ ।
बैठकले शिक्षा विकास निर्देशनालयको महानिर्देशक पदमा उपसचिव गोपाल कँडेललाई कायममुकायम प्रमुखको जिम्मेवारी तोकेको प्रवक्ता तामाङले जानकारी दिए । मुख्यमन्त्री कार्यालयको सिफारिसमा उपसचिव इन्जिनियर घनश्याम कार्कीलाई ११ औँ तह (सचिव)मा नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रस्ताविमा प्रदेश आयोजनाको वहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्डलाई स्वीकृत गरेको छ भने बैठकले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सशस्त्र आवासीय भवन निर्माण तथा संरचना सुधारका लागि विनियोजित रकमको प्रभावकारी खर्चका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।







