राजनीतिक दलसँग प्रधानमन्त्री : संसद पुनःस्थापनको कुरा गर्नु अराजकता रोजेको ठहर’

साझाकुरा
२०८२ मंसिर ५, बिहीबार ११:५२

हेटौंडा- प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरुबीच छलफल भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राजनीतिक दलहरुसँग प्रधानमन्त्री कार्कीले छलफल गरेको बताइएको छ ।छलफलमा प्रधानमन्त्री कार्कीले नेकपा एमालेलाई संसद पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गरिन् । एनले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु संवैधानिक दायित्व भएको बताइन् । निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने उनले बताइन् । संसद पुनःस्थापनको कुरा गर्नुले विगतको राजनीतिक दुर्घटना दोहो¥याउन खोजेको पुष्टि हुने उनको भनाई छ ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा विश्वास गर्ने शक्तिका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएको बताइन् । दलको साथ, सहयोग र सहभागिताबिना निर्वाचनको परिकल्पना गर्न नसकिने भन्दै मंसिर १० गतेभित्र अनिवार्य रुपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन पनि उनले आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनैपनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहर हुने बताइन् ।

त्यसैगरी प्रधानमन्त्र कार्कीले नेताहरुका द्वेषपूर्ण शब्दावलीले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएको टिप्पणी गरिन् । उनले निर्वाचनको संघारमा आफ्ना आचार र अभिव्यक्तिमा ध्यान दिन सचेत गराइन् । आचारसंहिताको गम्भीर उल्लंघन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीच विरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाइन् । राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य हुने भन्दै ै विगतका निर्वाचनमा देखिएको अनावश्यक खर्च, स्रोतसाधनको दुरुपयोग र कर्मचारी भर्नाको बदनामी रोक्न सरकारले कडाइका साथ निगरानी गर्ने पनि उनले बताइन् ।

प्रचारप्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाई निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन प्रतिवद्ध रहेको उनले उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष र द्रुत अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइरहेको बताइन् । प्रधानमन्त्री कार्कीले हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्ने बताइन् । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सुरक्षा सरकारको सुरक्षा उच्च प्राथमिहकताको विषय भएको बताइन् । जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाकारुपमा संवेदनशील जिल्लालाई हटस्पटमा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको उनले जानकारी दिइन् ।

हिमाली जिल्लाको बन्दोबस्तीलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेको पनि उनले बताइन् । वर्तमान सरकार लोकतान्त्रिक निकासको लागि बनेको एक पुल भएको उनको भनाई छ ।आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ र सरकारले गरिरहेका काम कारबाहीबारे जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् बैठकमा नेपाली काँग्रेसबाट प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली, महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे, वर्षमान पुनलगायत नेताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*