भारत सरकारद्वारा नेपाललाई १० वटा बेलिब्रिज सहयोग

विकास निर्माणसम्म भारत विश्वसनीय साझेदार : मन्त्री घिसिङ
साझाकुरा
२०८२ मंसिर ६, शुक्रबार १०:३७

हेटौंडा-भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ ।गतवर्ष असोज अन्तिममा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मूल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो । हेटौंडामा बिहीवार सडक डिभिजन कार्यालयमा भएको कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई बेलिब्रिज पुल हस्तान्तरण गरेका छन् । गत महिना पूर्वी नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण सडक सञ्जाल गम्भीररुपमा अवरुद्ध भएपछि नेपाल सरकारको अनुरोधअनुसार भारतले गत वर्षझैँ यसवर्ष पनि १० बेलिब्रिज उपलब्ध गराएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।

‘हाल प्राप्त पुलहरु हेवाखोला, बागमती नदी र लार्छा जस्ता संवेदनशील तथा महत्वपूर्ण स्थानमा जडान गरिनेछ, जसले अवरुद्ध आवागमन पुनः स्थापना गर्न ठुलो मद्दत पु¥याउनेछ’ उनले बताए । हस्तान्तरण गरिएका पुल ७० मिटरभन्दा लामो, ४.२५ मिटर चौडा एकल–लेन संरचना भएका छन् । ती ३८ मेट्रिकटन भारवहन गर्ने क्षमता भएका छन् । ती पुल तत्काल जडानका लागि आवश्यक तयारी थालिएको महानिर्देशक जैसीले बताए । लामो स्प्यानका बेलिब्रिज जडानमा विशेष प्राविधिक दक्षता आवश्यक पर्ने भएकाले भारतले पुल निर्माण कम्पनी ‘गार्डन रिच’का प्राविधिक विशेषज्ञ नेपाल पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार टोलीले नेपाली इन्जिनियरलाई तालिम तथा क्षमता विकास गर्दै पुल जडानमा सहयोग गर्नेछ ।

भारतीय राजदूत श्रीवास्तवले नेपालको पूर्वाधार विकासमा भारतले सहयोग पु¥याउँदै आएको बताए । हाल उपलब्ध गराइएको बेलिब्रिज लामो र टिकाउ रहेको उनको भनाइ थियो । भारत– नेपालको विकासमा लामो सहकार्य रहेको बताउँदै राजदूत श्रीवास्तवले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपालको विकासमा भारत संधै सहयोगी बन्दै आएको उनले बताए । ‘नेपाल सरकारको अनुरोधमा, भारत सरकारले गतवर्ष झैँ यसपटक १० वटा बेली पुल प्रदान गर्दैछ । पहिलो पुल हस्तान्तरण भएको छ र बाँकी नौवटा पनि आगामी हप्तामा प्राप्त गरी नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ’ उनले भने,‘यी पुलहरु विशेष छन् किनभने तिनीहरुको दूरी ७० मिटरभन्दा बढी छ, लम्बाइमा र मलाई सम्झना छ गतवर्ष २०२४ मा काठमाडौं र नेपालको अन्य भागमा बाढी आएको बेला पनि भारत  रकारले विभिन्न लम्बाइका १० वटा बेली पुल प्रदान गरेको थियो, जसमध्ये एक ७० मिटरभन्दा बढी लम्बाइको थियो, जस्तै यो, जुन सफलतापूर्वक हिवाखोलामा स्थापना गरिएको छ ।’

रामेछापमा स्थापना हुने यो पुलले सिन्धुली र रामेछापको सडक सञ्जाललाई जोड्ने राजदुत श्रीवास्तवले बताए । उनले पुल स्थापनाको लागि प्राविधिक जनशक्ति पनि उपलब्ध गराउने बताए । ‘हामी हाम्रो कम्पनीबाट प्राविधिक व्यक्तिको टोली पठाउनेछौं, जसले यो पुल निर्माण गरेको छ किनभने यस्ता लामो दूरीका पुलहरु नेपालमा नियमितरुपमा स्थापना गरिएका छैनन् । यी लामो दूरीका पुल हुन् । नेपालमा साना बेली पुल साना दूरीका छन् । त्यसैले प्रयासको एकभाग नेपाललाई क्षमता विकास र तालिम प्रदान गर्न पनि हो’ राजदुत श्रीवास्तवले बताए ।

भौतिकमन्त्री घिसिङले ७० मिटर लामो १० वटा बेलिब्रिज उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए । उनले पूर्वपश्चिम राजमार्गदेखि भित्रि मधेश जोड्ने हुलाकी राजमार्गको निर्माणमा भारतले पु¥याएको सहयोगको प्रशंसा गरे । पूर्वाधार निर्माणले मुलुकको आर्थिक वृद्धिदर मात्र नभई नागरिकलाई राष्ट्रसँग जोड्ने मन्त्री घिसिङको भनाइ थियो । विपद् व्यवस्थापनदेखि विकास निर्माणसम्म भारत नेपालका लागि विश्वसनीय साझेदार बनेको उनले बताए । मन्त्री घिसिङले भारतीय एक्जिम बैंकमार्फत उपलब्ध गराइएका उदार ऋण सुविधामा सञ्चालन भएका परियोजनाले दुर्गम क्षेत्रमा पहुँच विस्तार, क्षेत्रीय कनेक्टिभिटी तथा राष्ट्रिय यातायात प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएको बताए ।

सीमापार रेलमार्ग विस्तार, विशेषगरी जनकपुर–कुर्था–बिजलपुरा–बर्दीबास लाइन तथा जोगवनी–विराटनगर करिडोर परियोजना दुवै मुलुकबीचको सम्बन्ध अझ सुदृढ बनाउने आधार बनेको उनले उल्लेख गरे । ‘भारतले समर्थन गरेको हुलाकी राजमार्ग निर्माणले तराई क्षेत्रभर महत्वपूर्ण यातायात मार्ग खोल्दै लाखौं मानिसका लागि सेवा र बजारमा पहुँच सुधार गरेको छ । त्यसैगरी, पूर्वपश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथमा भारतको योगदानले नेपालको राष्ट्रिय गतिशीलता र व्यापारको मेरुदण्डलाई बलियो बनाएको छ’ मन्त्री घिसिङले बताए ।मन्त्री घिसिङले भूकम्प पछिको पुनर्निर्माणदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा र सामाजिक क्षेत्रसम्म भारतले पु¥याउँदै आएको सहयोगले नेपालका विभिन्न क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पारेको बताए । भविष्यमा हरित पूर्वाधार, जलवायु प्रतिरोधी यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा पनि सहकार्य विस्तार हुने अपेक्षा व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*