कसैलाई पनि सुकुम्बासी बन्न नदिने आश्वासन

साझाकुरा
२०८२ मंसिर ६, शुक्रबार १०:४४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१६ हटियाक्षेत्रका हाइटेन्सन लाइन प्रभावित स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै उर्जा, जलश्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङलाई भेट गरेका छन् । बेलीब्रीज हस्तान्तरण कार्यक्रममा सहभागी हुन हेटौंडा आएका मन्त्री घिसिङलाई भेटेर उनीहरुले मानवबस्ती, खेतीयोग्य जमिन तथा निजी सम्पत्तिमाथि टावर पर्ने भएकाले प्रसारण लाइन करिब ५०० देखि ८०० मिटर दक्षिणतर्फ सार्नुपर्ने माग गरेका हुन् । स्थानीयले विकल्प हुँदाहुँदै दशकौँदेखि बसोबास गर्दै आएको बस्तीमाथि टावर राख्न खोज्नु अन्यायपूर्ण भएको भन्दै पुनः सर्भे गरी वैकल्पिक मार्गबाट लाइन लैजानुपर्ने धारणा राखेका थिए । छलफलका क्रममा मन्त्री घिसिङले वैकल्पिक स्थानबाट प्रसारण लाइन लैजान सम्भव नभएको स्पष्ट पार्दै पहिले नै सर्भे गरिएको रेखाङ्कन अनुसारै काम अघि बढ्ने जानकारी दिए ।

प्रसारण लाइन विस्तार अवरुद्ध हुँदा राज्यले वर्षौँदेखि अर्बौँको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले वैकल्पिक मार्गको सम्भावना नभएकाले प्रभावितलाई सम्भव भएसम्म उचित क्षतिपूर्ति दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । सरकारले कसैलाई पनि सुकुम्बासी बन्न नदिने आश्वासन उनले दिए । त्यसैगरी हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले प्रसारण लाइन विस्तार राज्यको प्राथमिकता भएकाले स्थानीय सुकुम्बासी बन्ने अवस्था आउन नहुने बताइन् । उचित मुआब्जा लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी, प्राधिकरणका योजना प्रमुख, जनप्रतिनिधि तथा स्थानीयसँग पुनः छलफल आवश्यक रहेको उनको भनाई छ ।

२ सय ८८ किलोमिटर लामो हेटौंडा–ढल्केवर–दुहबी ४०० केभी प्रसारण लाइन परियोजना अन्तर्गत् ढल्केवर–बकैया खण्डको काम सकिएको छ । हेटौंडाक्षेत्रका केही भागमा आधा काम पूरा भइसके पनि हेटौंडा–१५, १६ र १७ का स्थानीयको अवरोधका कारण हटियाक्षेत्रमा मात्रै १४ टावर निर्माण रोकिएको नेपाल विद्युत् प्राधिकरणका हेटौंडा–ढल्केवर–इनरुवा प्रसारण आयोजना निर्देशक श्यामकुमार यादवले बताए । छलफलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, वडा १६ का अध्यक्ष रामकृष्ण कोइराला तथा हाइटेन्सन प्रभावित स्थानीयको उपस्थिति थियो ।

२०७५ साल पौष २४ गते स्थानीय जनप्रतिनिधिको बैठकले पनि सर्भे गरिएको क्षेत्रमा नागरिकको निजी सम्पत्ति, खेतीयोग्य जमिन र वस्ती पर्ने भएकाले वैकल्पिक मार्ग खोजिनुपर्ने निष्कर्ष निकालिएको
थियो । यो निर्णयअनुसार नै बस्ती बाहिरबाट लाइन लैजानुपर्ने माग उठाइए पनि कार्यान्वयन भने हुन सकेको छैन । यो प्रसारण लाइनको रुट मकवानपुर सहित ६ जिल्ला रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*