बागमतीका सभामुख पाठकको राजीनामा स्वीकृत

साझाकुरा
२०८२ मंसिर ६, शुक्रबार १०:५१

हेटौंडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले बिहिबार एक सूचना जारी गर्दै सभामुख पाठकले २०८२ असोज १ गते नै राजीनामा दिएको जानकारी गराएको हो । पाठकले उपसभामुख अप्सरा चापागाईंलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जनाएका छन् । सूचना प्रकाशित भएसँगै उनको राजीनामा स्वीकृत भएको हो । उनी राप्रपाबाट प्रदेशसभामा निर्वाचित भएपछि सभामुख भएका थिए । प्रदेशसभाको बर्खे अधिवेशन पनि बुधबार रातिबाट अन्त्य भएको छ ।

प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारको सिफारिसमा बर्खे अधिवेशनको रुपमा रहेको बजेट अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेशसभाको चालु सोह्रौँ अधिवेशन बुधबार राति ११ः५९ बजेदेखि अन्त्य गरिएको हो । बागमती प्रदेशसभाको चालु अधिवेशन बुधबार रातिबाट अन्त्य गरिएको पत्र प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त भएको बागमती प्रदेशसभाका सचिव पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*