नारायणगढ–हेटौंडा–पथलैया सडक विस्तारमा ५२ अर्ब रुपैयाँ खर्च हुने

साझाकुरा
२०८२ मंसिर ६, शुक्रबार १०:५८

हेटौंडा-सरकारले एसियाली विकास बैंक (एडीबी) को ४२ अर्ब रुपैयाँ सहयोगमा दुईवटा सडक आयोजना अगाडि बढाउन लागेको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २७५ मिलियन अमेरिकी डलर अर्थात ३९ अर्ब रुपैयाँ ऋण र २० मिलियन अमेरिकी डलर अर्थात तीन अर्ब रुपैयाँ अनुदानमा नारायणगढ–हेटौंडा र आँबुखैरेनी–मुग्लिन सडक आयोजना अगाडि बढाउन लागेको हो । ती दुई सडक निर्माणमा ५५ अर्ब रुपैयाँखर्च हुने अनुमान छ । एडीबीले दिएर अपुग हुने बाँकी रकम नेपाल सरकारले हाल्नेछ । एडीबीका प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र सचिव केशवकुमार शर्मालाई भेटेर सडक विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले यसका लागि छिट्टै ऋण सम्झौता गर्न आफूहरु तयार रहेको बताएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ।

‘एडीबीका प्रतिनिधिले दुईवटा सडकका लागि ४२ अर्ब रुपैयाँ सहयोग गर्ने गरी चाँडै सम्झौता गर्ने भनेका छन् । स्रोत सुनिश्चित भएपछि काम अगाडि बढाउन सकिन्छ,’ ती कर्मचारीले भने । नारायणगढ–हेटौंडा रआँबुखैरेनी–मुग्लिन सडक विस्तारका लागि पूर्वतयारीको काम भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिमचरणमा पुगेको छ । यस्तै डिजाइन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृतिको चरणमा रहेको सडक विभागमा एडीबीमा आयोजना हेर्ने निर्देशनालयले जनाएको छ । यो सडकमा घरटहरा हटाउने काम भइरहेको छ । राजमार्ग छेउका बस्तीमा दुबैतर्फ ३.५ मिटरको ‘सर्भिस लेन’ पनि बनाइने छ ।

निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार यी दुवै आयोजनाको डिजाइन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रिभ्यु गरिरहेको छ । ‘इआईए पनि एउटाको स्वीकृत भइसकेको छ भने नारायणगढ–हेटौंडा सडकको मन्त्रालयले रिभ्यु गरिरहेको छ,’ उनले भने । मुग्लिनदेखि आँबुखैरेनीसम्म साढे ८ किलोमिटर सडक बनाउन ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । मुग्लिनमा पुल निर्माण गर्ने योजना छ । नारायणगढ–हेटौंडा सडकमा फ्लाइओभर बनाउने विषय छलफलमा रहेकाले डिजाइन र डीपीआर स्वीकृत भएको छैन । ‘ब्रान्डघाटमा २ किलोमिटर लामो फ्लाइओभर बनाउने विषयमा छलफल भइरहेको छ । फ्लाइओभर बनाउँदाको अवस्थामा त्यसको प्रभाव के हुन्छ भन्ने हेर्नुपर्ने हुन्छ,’ ढकालले भने ।

१०४ किलोमिटर लामो नारायणगढ–हेटौंडा–पथलैया सडक विस्तारका लागि ५० देखि ५२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको छ । यसमा २ किलोमिटर लामो एउटा फ्लाइओभर बनाउने गरी डीपीआर तयार पारिएको छ । टिकौली जंगल भनेर चिनिने चितवन राष्ट्रिय निकुञ्जको बरभण्डारक्षेत्रमा यस्तो फ्लाइओभर बनाउने प्रस्ताव छ । वन्यजन्तुको वासस्थान र हिँड्ने बाटोमा असर नपर्ने गरी फ्लाइओभर बनाउन प्रस्ताव गरिएको निर्देशनालयका निर्देशक ढकालले बताए ।

यो सडक बस्ती नभएका क्षेत्रमा ४ लेन र सहरीक्षेत्रमा ६ लेनको हुनेछ । चितवनको रत्ननगरदेखि भण्डाराको मार्तल खोलाको पुलसम्म ६ लेन सडक बन्ने छ । त्यहाँदेखि मकवनपुरको बसमाडीसम्म ४ लेनको हुनेछ । बसमाडीदेखि हेटौंडासम्म भने सडक ६ लेनकै बनाइनेछ । यो सडक विस्तारका लागि २०७७ मै परामर्शदाता छनोट गरिएको थियो । डीपीआर बनाउने जिम्मा सुसङ इआरएमसी टेक स्टुडिओ अफ इन्जिनरिङले पाएको थियो । यो कम्पनीले दुई वर्षभित्र डीपीआर २०७७ असोज १८ गते सडक विभागको आयोजना निर्देशनलयसँग १५ लाख ५७ हजार डलरमा सम्झौता गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*