कैलाशका शिक्षकलाई पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम

साझाकुरा
२०८२ मंसिर ७, शनिबार ०८:५९

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकामा कक्षा १ देखि ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सुरु भएको छ । पाँच दिनसम्म सञ्चालन हुने तालिम शुक्रबारबाट सुरु भएको हो । कैलाश–९ मा रहेको कालिका माविमा सञ्चालित तालिम वडा ९ का वडाध्यक्ष भूवनसिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

अध्यक्ष मुक्तानले गाउँपालिकाले शिक्षा र स्वास्थ्यक्षेत्रमा काम गर्दै आइरहेको बताए । उनले तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थीसमक्ष पुग्नुपर्ने बताउँदै शिक्षामा क्रमिकरुपमा सुधार हुँदै गइरहेको बताए । ‘तालिम भनेको उर्जा हो, तालिमपश्चात यहाँहरु उर्जावान भएर विद्यालय फर्कनुस्’ अध्यक्ष मुक्तानले भने, ‘प्रध्यानाध्यापक बैठकमा उठेका विषयमा आफ्नो ध्यान केन्द्रीत रहेको छ ।’ उनले समस्याको समाधानतर्फ सिंगो गाउँपालिका लाग्ने बताएका छन् ।

पालिकाले छिट्टै नै तालिम हल निर्माणको तयारीमा जुटेकाले अब यस अवस्था आउन नदिने उनले बताए । कार्यक्रममा वडाअध्यक्ष घलानले सिकेको सीपलाई जतिसक्दो कार्यान्वयन गर्न आग्रह गरेका छन् ।अनुगमनमा जाँदा त्यसको प्रभावकारी भएको पाइएन्, प्रतिकुल अवस्थामा पनि यहाँहरुले अनुकुल भएर काम गर्नुपर्ने बताए । उनले विद्यार्थीको भविष्य शिक्षकको हातमा रहेकाले तालिममा सक्दो ज्ञान र सीप सिक्न आग्रह गरेका छन् ।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख समिर जोशीले यस अघिकोतालिम विद्यालयमा कार्यान्वयन नभएको बताए । तालिमलाई तालिममै सीमित भएको बताउँदै अबका दिनमा तालिमपश्चात गरिनुपर्ने कार्यान्वयनको पक्ष सबल हुनुपर्ने निर्देशन दिए । तालिम पछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गरिनुपर्नेमा उनले जोड दिए । तालिममा गाउँपालिकामा रहेका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकको सहभागिता रहेको सहायक शिक्षा अधिकृत दीपेन्द्र अधिकारीले बताए ।

तालिम पाँच दिनसम्म सञ्चालन हुने अधिकारीले बताए । तालिममा विभिन्न विषयविज्ञको उपस्थितिमा सहजीकरण रहने जनाइएको छ । तालिममा कालिका माविका प्रध्यानाध्यापक रामप्रसाद कालाखेती, सहायक शिक्षा अधिकृत अधिकारी, स्रोतशिक्षक ध्र्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*