मकवानपुरमा १४ हजार भन्दा बढी मतदाता थपिए
हेटौंडा- मकवानपुरमा १४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । बागमती प्रादेशिक निर्वाचन कार्यालय हेटौंडाका अनुसार गत शुक्रबारसम्म जिल्लामा १४ हजार ६०३ जना नयाँ मतदाताले नाम दर्ता गराएका हुन् ।जिल्लामा बायोमेट्रिक विधिबाट छ हजार ९७० र राष्ट्रिय परिचयपत्रका आधारमा सात हजार ६३३ गरी १४ हजार ६०३ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए । यसअघि जिल्लाको मतदाता संख्या तीन लाख दुई हजार २४३ थियो । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो । नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले नाम मतदाता नामावलीमा दर्तागराउनसक्ने व्यवस्था छ ।
उमेर पुगेपनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेनजी समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो । थपिएका नयाँ मतदातामा अधिकांश युवापुस्ताका हुन् । यस्तै मङ्सिर महिनामा थप गरिएको पाँच दिनको अवधिमा निर्वाचन कार्यालयमा उपस्थित भएर वायोमेट्रिकमार्फत महिला ३४८ सहित ७५७ जनाले मतदाता नामावलीमा फोटोसहितको नाम दर्ता गराएको तथ्यांक छ । आचार्यका अनुसार विगतको तुलनामा यसपटक मतदाता नामावली दर्ता गर्न युवापुस्ताको उत्साह देखिएको थियो ।
यसैबीच मकवानपुरमा मतदानस्थलको नाम संशोधन र परिवर्तनका लागि जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा सिफारिश गरी पठाएको छ । मकवानपुरमा १६७ मतदानस्थल रहेका छन् । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा गत असोज मसान्तमा सार्वजनिक मतदाता नामावली अनुसार तीन लाख दुई हजार २४३ मतदाता थिए ।







