पत्रकार महासंघ बागमती प्रदेश समितिको १२ बुँदे घोषणापत्र
हेटौंडा-नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले १२ बुँदे घोषणापत्र जारी गरेको छ । प्रदेश राजधानी हेटौंडामा मंसिर ५ र ६ गते बसेको चौथो पूर्णबैठकले प्रदेशभर उत्पन्न भइरहेका राजनीतिक, सामाजिक तथा सञ्चारक्षेत्रमा देखिएका समस्यामाथि विस्तृत समीक्षा गर्दै १२ बुँदे ‘मकवानपुर घोषणापत्र २०८२’ जारी गरेको हो ।बैठकले हालै देशका विभिन्नस्थानमा भएका जनजीवन प्रभावित बनाउने आन्दोलन, राजनीतिक दलभित्रको अस्थिरता तथा सञ्चारमाध्यममा परिरहेको असरप्रति गम्भीर ध्यानाकर्षणगराउँदै राजनीतिक नेतृत्वलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ । सञ्चारमाध्यम तथा पत्रकारमाथि आक्रमण र दमनका घटना बढिरहेको उल्लेख गर्दै महासंघले प्रदेश सरकार र स्थानीय तहलाई पत्रकार सुरक्षाको वातावरण निर्माण गर्न विशेष पहल गर्न माग गरेको प्रदेश समितिका अध्यक्ष कृष्ण सारुमगरले बताए ।
यस्तै, देशभर दर्ता तथा नवीकरण प्रक्रियामा समस्या देखिएका अनलाइन तथा मिडिया हाउसको अनुमतिपत्र, नवीकरण र नवीकरण शुल्कसम्बन्धी चर्को जटिलताप्रति बैठकले असन्तुष्टि जनाउँदै सरकारसँग सूचनामूलक र लोककल्याणकारी प्रसारण सुनिश्चित गर्न नवीकरण प्रक्रियालाई सहज बनाउने आग्रह गरेको छ । अनलाइन सञ्चारमाध्यम प्रदेश सरकारका निकायबाटै नवीकरण हुने प्रावधान खोसेर संघीय सरकार मातहत लागेकोमा प्रदेशबाटै नवीकरणको लागि काम गर्न पनि प्रदेश समितिले माग गरेको छ ।
‘मोफसलका अधिकांश सञ्चारमाध्यम स्वरोजगारमूलक उद्योगकारुपमा स्थापित छन्, मिडियाक्षेत्रलाई उद्योग वा व्यवसायको रुपमा नहेरिंदा सञ्चारमाध्यमले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको अबस्था छ, मिडियालाई उद्योगको रुपमा परिभाषित गर्दै सेवासुविधा उपलब्ध गराउन यो बैठक सरकारसँग माग गर्दछ’ घोषणापत्रमा उल्लेख गरिएको छ । पत्रकारलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने गरी नीति परिमार्जन गर्न प्रदेश समितिले सरकारसँग माग गरेको छ ।
सञ्चारक्षेत्रसँग ऐनलाई परिमार्जन गर्दै सञ्चारक्षेत्रसँग सम्बन्धित ऐनहरु सञ्चारकर्मीमैत्री बनाउन तीनै तहका सरकारसँग आग्रह गरिएको अध्यक्ष मगरले बताए । ‘प्रदेशमा दर्ता तथा अभिलेखिकरणमा रहेका सञ्चारमाध्यमले पाउने लोककल्याणकारी बिज्ञापनलाई निरन्तरता दिन माग गर्दछौं’ उनले भने, ‘पत्रकार क्षमता विकासका कार्यक्रम कटौतीगरिएकोमा निरन्तरता दिन माग गर्दछौं । स्थानीयस्तरमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई आर्थिकरुपमा सक्षम बनाउनका लागि आवश्यक नीति बनाई समानुपातिक विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न सबै स्थानीय तहलाई यो बैठक आग्रह गर्दछ ।’
पत्रकारको न्युनतम पारिश्रमिकलाई समयानुसार परिमार्जन गर्दै सबै सञ्चारमाध्यमले समयमै उचित पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धितपक्षसँग माग गरिएको छ । साथै श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गर्ने व्यवस्था गर्न प्रदेश समितिले सम्बिन्धत पक्षको ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्र संस्था बनाउने अभियानअन्तर्गत सदस्यता नवीकरण अभियानलाई आगामी पुस १५ गतेभित्र सम्पन्न गरी प्रदेश समितिमा विवरण पठाउन मातहतका शाखालाई आग्रह गरिएको छ ।
मकवानपुरको ऐतिहासिक, एवम् पर्यटकीय क्षेत्र पुष्पलाल पार्क सहित जिल्लाका पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा आवश्यक योजना बनाउन यो वैठक संघीय र प्रदेश सरकारसँग माग गर्दै पर्यटनमैत्री जिल्ला बनाउन दुवै तहका सरकारलाई आवश्यक नीति बनाउन आग्रहगरिएको अध्यक्ष मगरले बताए । महासंघको थप संस्थागत विकासका लागि भवन निर्माण, तालिम केन्द्र व्यवस्थापनलगायतको कार्यमा सहयोग गर्न बागमती प्रदेश सरकारसँगमाग गरिएको छ । नेपालपत्रकार महासंघ बागमती प्रदेशको स्थापना दिवस बैशाख २२ गते भब्यताका साथ सम्पन्न गर्न आगामी २०८३ बैशाख २२ गते बागमति प्रदेशस्तरीय मिडिया सम्मेलन आयोजना गरिने घोषणा गरिएको छ ।







