चुनावका लागि सुरक्षा निकायलाई गाडी किन्ने प्रक्रिया अन्तिमचरणमा

साझाकुरा
२०८२ मंसिर ९, सोमबार १२:१२

हेटौंडा- आसन्न प्रतिनिधिसभा चुनावका लागि तीनवटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ ।प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीनवटै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद गर्न अनुमति प्राप्त भएर प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट धेरै सवारीसाधन जलेर ध्वस्त भएका थिए । सुरक्षा निकायका धेरै सवारीसाधन जलेर काम नलाग्ने भएका कारण अत्यावश्यक सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । चुनावको वातावरण निर्माण गर्न पनि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारीसाधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडि सवारीसाधन खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ ।

४४९ वटा प्रहरी कार्यालय सञ्चालनमागृह मन्त्रालयको तथ्यांकअनुसार जेनजी प्रदर्शनमा मुलुकभर नेपाल प्रहरीअन्तर्गतका ४६५ वटा कार्यालयमा क्षति पुगेको थियो भने सोही क्रममा ५७१ वटा विभिन्न सवारीसाधनमा क्षति पुगेको थियो ।मन्त्रालयकाअनुसार कुल ४६५ वटा प्रहरी कार्यालय तथा युनिटमा क्षति पुगेकोमा कात्तिकसम्म कुल ४४९ वटा प्रहरी कार्यालय मर्मतसम्भार भई पूर्णसञ्चालनमा आइसकेका छन् । बाँकी १६ वटा पनि मर्मत भइरहेकाले यिनीहरु पनि यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतका कुल ८४ वटा कार्यालयमा क्षति पुगेको थियो भने कुल ६१ वटा सवारी साधन पूर्णरुपले आगजनीमा परेको थियो ।

राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका दुईवटा भवन तथा तीनवटा जिल्लास्थित कार्यालयको भवनमा क्षति पुगेको थियो भने ११ वटा चार पांग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको तथ्यांकमा छ । जसको अनुमानित क्षतिको रकम ८ करोड ९० लाख रुपैयाँ रहेको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार अर्थ मन्त्रालयबाट नेपाल प्रहरीलाई नियमित बजेटबाट १५६ वटा सवारीसाधनको लागि ३५ करोड ११ लाख रुपैयाँ र थप १०६ वटा सवारीसाधन खरिदका लागि ४५ करोड ३० लाख थप स्रोत सहमति प्राप्त भइसकेको छ ।यस आर्थिक वर्षमा नेपाल प्रहरीले कुल ८० करोड ४१ लाख रुपैयाँको विभिन्न सवारीसाधन खरिद गर्ने तयारी रहेको छ ।

यी सवारीसाधन खरिदका लागि गृहले अर्थबाट २४ असोजमा खरिद अनुमति पाई आवश्यक प्रक्रियामा गइसकेको छ । नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ सवारी अन्तर्गत, ७५ वटा पिकअप भ्यान छन् भने (नियमित गस्तीका लागि), प्रिजनर सवारीसाधन एउटा, २८ वटा कार्यालय प्रयोजनका लागि छन् । ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन् ।मन्त्रालयका लागि कुल ५९ वटा सवारीसाधन खरिदका लागि अर्थबाट श्रोत अनुमति प्राप्त भएको छ ।

जसमध्ये ३ वटा विपद् उद्दारका लागि छन् । ५० वटा बोलेरो पिकअप भ्यान छन् । तीनवटा दंगा नियन्त्रण ट्रक र दुईवटा एम्बुलेन्स रहेका छन् । यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपैयाँ खर्च हुनेछ । थप ५० वटा यो वर्षभित्र खरिद गर्ने गरी कुल ५ करोड ६ लाख बजेट सशस्त्रलाई प्राप्त हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका लागि कुल ६ वटा चार पांग्रेसवारी खरिदका लागि २ करोड ८० लाख रुपैयाँ श्रोत अनुमति प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*