दुई सय ८२ घरधुरीमा धारा निर्माणका लागि त्रिपक्षीय सम्झौता
हेटौंडा-मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा दुई सय ८२ घरमा खानेपानी धारा निर्माणका लागि त्रिपक्षीय सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा हस्ताक्षर कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । साझेदार संस्था वाइन टु वाटर नेपालले गाउँपालिकाको विभिन्न वडामा चरणबद्ध सर्भेपश्चात पाँचवटा योजना छनोट गरेको थियो । सोहीअनुरुप बुधबार त्रिपक्षीय सम्झौता गरिएको हो । योजनामा गाउँपालिकाको २५ प्रतिशत योगदान रहन्छ भने संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहने गरी सम्झौता गरिएको छ ।
गाउँपालिकाको वडा ६ को मराङसिंह आगेटार खानेपानी उपभोक्ता समितिमा ६४ घरधुरी, वडा ७ को कोथलिटार बस्ताल खानेपानी उपभोक्ता समितिअन्तरगत ६८ घरधुरी, वडा ८ को वाक्सिराङ माथिल्लोटोल खानेपानी उपभोक्ता समितिमा ५४ घर, वडा ९ को घैराङ खानेपानी उपभोक्ता समितिमा ७४ घर र वडा १० को थिङडाँडा खानेपानी उपभोक्ता समितिमा २२ घरधुरी सहित २८२ घरधुरीका एक हजार ७३२ जना लाभान्वित रहनेछन् । योजनाका लागि त्रिपक्षीयको तीन करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ बजेट रहेको छ । जसमा गाउँपालिकाले ९१ लख ८२ हजार १३९ रुपैयाँ बजेट खर्च गर्नेछ ।
सम्झौतापश्चात अध्यक्ष मुक्तानले सम्झौताअनुरुप समिति र उपभोक्ताले दीगो हुनेगरी काम गर्न आग्रह गरेका छन् । एकघर एकधारा अनुरुप वास परियोजनाअन्तरगत गाउँपालिका र अन्य साझेदारी संस्थासँगको सहकार्यका काम गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताए । योजनाको स्वामित्व र जिम्मेवारी उपभोक्ता समितिको रहने हुनाले ध्यानपूर्वक समय सीमाभित्र नै काम सम्पन्न गर्न उनले निर्देशन दिए । ‘योजनालाई कसरी दीगो बनाउने हो यहाँहरुको हातमा रहन्छ, सुरक्षित खानेपानीले स्वास्थ्यमा महत्वपूर्ण योगदान रहन्छ’ अध्यक्ष मुक्तानले भने ।
मानिसको मौलिकहक अन्तरगत खानेपानी रहेकाले गाउँपालिकाबाट खानेपानी, सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए । घरमा धारासँगै एक शौचालय अनिवार्य रहेकाले शौचालय नभएका उपभोक्ताले शौचालय निर्माण गर्नतर्फ लाग्न अनुरोध गरेका छन् । शौचालय नभएको घरमा धारा जडान नहुने परियोजनाको योजना रहेकाले अनिवार्य शौचालय निर्माण गरिनुपर्ने उनले बताए । कार्यक्रममा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले खानेपानीको क्षेत्रमा सन् २०१६ देखि काम गर्दै आइरहेको बताए ।
समृद्ध परियोजनाअन्तरगत पाँच पालिकामध्ये कैलाशमा पनि योजना बनाई काम गर्न लागिएको उनले बताए । सुरक्षित खानेपानीले स्वास्थ्य र सरसफाइका साथै आयआर्जनमा सहयोग पुग्ने विश्वास रहेको श्रेष्ठ बताए । २० वर्षसम्म सुरक्षित खानेपानी खुवाउने लक्ष्यकासाथ योजना निर्माण गरिने जनाए । पानी र सरसफाईको बोध लिएर उपभोक्ता नै जागरुक हुनुपर्ने बताउँदै निर्माणपछि योजनालाई संरक्षण गर्नु यहाँहरुकै दायित्व रहेको बताए ।
योजनाअन्तर्गत कोथलीटार बस्तालक्षेत्रमा ५ वटा इन्टेक, २ वटा डिसी र ३ वटा आरभिटी निर्माण गरिने वास कन्सलटेन्ट बासुदेव पाण्डेयले बताए । उनकाअनुसार थिङडाँडाक्षेत्रमा एक इन्टेक, डीसी एक र आरभिटी २ वटा, वाक्सिराङ माथिल्लो टोलक्षेत्रमा एक इन्टेक, १ डीसी र तीनवटा आरभिटी निर्माण गरिनेछ । घैराङक्षेत्रमा एक इन्टेक र ३ आरभिटी, मराङसिंह आगेटारक्षेत्रमा एक इन्टेक, २ डिसी र तीनवटा आरभिटी निर्माण गरिने पाण्डेयले बताए । यी योजनामध्ये वडा नं. ९ को एक विद्यालयमा पनि धारा निर्माण गरिने जनाइएको छ ।







