६ क्याम्पसलाई आंगिक बनाउन स्वीकृति प्रदान
हेटौंडा- बागमती प्रदेश सरकारले ६ क्याम्पसलाई आंगिक बनाउन स्वीकृति प्रदान गरेको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशमा उच्चशिक्षाको पहुँचविस्तार गर्ने उद्देश्यले प्रदेशका ६ क्याम्पसलाई बागमती विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन स्वीकृति प्रदान गरेको प्रदेशका सरकार प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशका ६ वटा सामुदायिक क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पसकारुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको उनले बताए ।
यो निर्णयसँगै प्रदेश विश्वविद्यालयको संरचनाभित्र रही ६ क्याम्पस सञ्चालन हुनेछन् । त्यसैगरी बैठकले यातायातक्षेत्र सुधारका लागि विज्ञ समूहको समिति गठन गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रस्तावमा ‘बागमती प्रदेश यातायात क्षेत्र पुनरावलोकन तथा सुधार सुझाव समिति’ गठन गर्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए । बैठकले समितिको कार्यक्षेत्रगत सर्तसमेत स्वीकृत गरेको छ । प्रदेशको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न र नीतिगत सुधार गर्न आवश्यक सुझाव दिने गरी समितिले काम गर्न उनको भनाई छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा घनश्याम गुरागाईंको अनिवार्य अवकाश स्वीकृत गर्ने निर्णय भएको छ । उमेरहदका कारण उनले आगामी २०८२ मङ्सिर २७ गतेदेखि लागू हुनेगरी अनिवार्य अवकाश पाउनेछन् ।







