पशुसेवा कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

साझाकुरा
२०८२ मंसिर १२, बिहीबार १०:५४

हेटौंडा- पशुसेवा कार्यालय मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक साथै त्रैमासिक समीक्षा गरेको छ । बुधबार गोष्ठी आयोजना गरी कार्यालयले वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको हो । कार्यालयप्रमुख बरिष्ठ पशुविकास अधिकृत डा. रामप्रकाश प्रधानले चालुतर्फ ४ करोड ९६ लाख रुपैयाँ र पुँजीगततर्फ २३ लाख ४० हजार रुपैयाँको कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए । जेनजी आन्दोलनपछि बजेट कटौती भएकाले वार्षिक कार्यक्रम सार्वजनिक गर्ने तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको बताउँदै प्रधानले अब कार्यालयले तोकिएको कार्यक्रम तीव्रताका साथ गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले चालु वर्षमा कार्यालयले खोरेत रोगक्षेत्र कार्यक्रम अन्तर्गत खोप कार्ड छपाई र समन्वय बैठक गरिने जानकारी दिए । कार्यालयमार्फत् एकवडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने उनले बताए । यो कार्यक्रमका लागि ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै पशुपंक्षी रोज सर्भिलेन्स तथा नमुना संकलन, परीक्षण, संक्रामक रोगविरुद्धको खोप कार्यक्रम, मत्स्यपालन क्षेत्र विकास कार्यक्रम कार्यालयले गर्ने जनाएको छ ।

यसैगरी पशुपंक्षी तथा मत्यसजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रममा पनि कार्यालयले बजेट विनियोजन गरेको छ ।कार्यालयप्रमुख प्रधानको अध्यक्षतामा भएको गोष्ठीमा कार्यालयका डा. मदन भण्डारीले त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरगढी–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाई, कैलाश–३ का वडाध्यक्ष देवलाल बल, पशुपंक्षी निर्देशनालयका बरिष्ठ पुशअधिकृत डा. सन्तोष घिमिरे, डा. कमल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका पशुशाखाप्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*