निर्णायक तहमा महिलाको भूमिकाबारे सार्वजनिक कार्यक्रम
निर्णायक तहमा महिलाको भूमिकाबारे सार्वजनिक कार्यक्रमहेटौंडा-लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार हेटौंडामा ‘निर्णायक तहमा महिलाको अर्थपूर्ण भूमिका’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।मानवअधिकारका लागि महिला, एकलमहिला समूह, मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ११ नं. वडाअध्यक्ष जुना दाहाल, १ नं. वडा सदस्य इश्वरी रसाइली, ५ नं. वडासदस्य रन्जिता सिलवाल, १७ नं. वडासदस्य उर्मिला चुनरा, महिला बालबालिका तथा समावेशीकरण शाखाप्रमुख विष्णुकुमारी लामिछाने, अधिवक्ता अप्सरा बस्नेत, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, बालमानव अधिकार संगठनकी अध्यक्ष शर्मिला श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य विष्णुमाया थपलिया, कार्यक्रमकी सहआयोजक अधिकृत अप्सरा अर्याललगायत एकलमहिलाको उपस्थिति थियो ।
समूहकी सचिव कल्पना आचार्यले सञ्चालन गरको कार्यक्रममा सहभागिता जनाएका एकलमहिलाले आफूहरु आज पनि विभिन्न प्रकारका दुव्र्यवहार, सामाजिक तिरस्कार र मनोवैज्ञानिक दबाब सहन बाध्य हुनुपरेको अनुभव साझा गरे । कतिपय वडाले एकल महिलाका लागि छुट्टै बजेटसमेत नथपेको गुनासो सहभागीले राखे । प्रमुखअतिथि नगरप्रमुख लामाले महिला नेतृत्वमा पुगेपनि थुप्रै समस्याबाट मुक्त हुन नसकेको उल्लेख गर्दै महिलाले आफैँलाई सशक्त बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिइन् । उनले एकलमहिलाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबै महिलालाई सामाजिक चुनौतीका विरुद्ध दृढतापूर्वक लड्न प्रेरित गरिन् ।हेटौंडा उपमहानगरका सबै वडाका महिला जनप्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा महिलाले निर्णय तहसम्म पुगे पनि आवाजको प्रभावकारी सुनुवाइ नहुने गुनासो राखे । महिला मुद्दामा निरन्तर आवाज उठाउँदा पनि समुचित सुनुवाइ नपाएको दुःख उनीहरुले व्यक्त गरे ।







