बकैया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
हेटौंडा-पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । बकैया गाउँपालिका–३ स्थित हात्तीसुँढेमा कार्यालय परिसरमै चारतले भव्य भवन निर्माण भएको हो । यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रष्ट भवनमा रहेको थियो । प्रमुख प्रशासकीय अधिकृतलाई आवासीय सुविधासहितको भवन बैठक कक्ष, पार्किङलगायत सुविधा रहेका छन् । संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभाहल दुईवटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोरकक्ष, शौचालय लगायत संरचना रहेका छन् ।
भवन २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ साल जेठ ३१ गते गाउँपालिकासँग सम्झौता भएकोमा यो अवधिमा पुरा नभएपछि म्याद थप गरिएको थियो । गत भदौ ३१ गते निर्माण सम्पन्न भएको हो । भवन निर्माण सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७ सय ७० रुपैयाँमा भएकोमा भवनको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धि कर सहित सात करोड ९५ लाख ६७ हजार ९ सय १७ रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी भएको छ ।
भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभई मननलागे पार्टी वा उम्मेदवार बदल्ने स्वतन्त्रता दिएको बताए । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय रहेको टिप्पणी गरे ।
‘गाउँमा विकास पुगेको, बाटो, पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरु अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन् तर, यस्ता व्यवस्था धेरै टिक्दैनन् । समयले त्यसलाई छोडेर जान्छ’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिए सच्चिन सकिन्छ, गल्ती गर्नेलाई कानुनअनुसार दण्डित गर्न सकिन्छ, र राज्य प्रणालीलाई सुधार्दै लैजान सकिन्छ ।’ कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षालगायतका विकास निर्माण क्षेत्रमा धेरै लगानी गरेको बताए । बकैया गाउँपालिकामा पूर्वाधारका हिसाबले पनि मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको उनको दावी छ ।
‘आयआर्जनको पाटोतिर फर्कँदा, धेरै नागरिकलाई बच्चा पढाउन गाह्रो, घर चलाउन कठिन, भन्ने समस्या थियो । त्यो समस्यालाई कम गर्न गाउँपालिकाले नयाँ अवसर सिर्जना गरेको छ । धेरैले रक्सी पसल छोडेर कृषिमा लागेका छन् । विदेश जाने तयारीमा रहेका युवा अहिले ५–१० वटा गाई पालेर गाउँमै राम्रो आम्दानी हुनसक्ने देखेर यही काममा लाग्न थालेका छन् । यसले गाउँको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारिरहेको छ’ उनले बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, निवर्तमान उपाध्यक्ष सरला बोलखेलगायत विभिन्नराजनीतिक दलका व्यक्तित्व, समाजसेवि, स्थानीयको उपस्थितिरहेको थियो ।







