७ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

साझाकुरा
२०८२ मंसिर १२, बिहीबार १०:१६

हेटौंडा-कैलाश गाउँपालिका–८, भार्ताका मोतिबिन्दुका ७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । आँखापरीक्षण शिविरबाट फेला परेका बिरामीको निःशुल्क शल्यक्रिया भएको भार्तापुण्यदेवी स्वास्थ्यचौकीकी स्वास्थ्यप्रमुख रञ्जना प्रजापतीले जानकारी दिइन् । भार्ता स्वास्थ्यचौकीले वडाका विभिन्न ठाउँमा निःशुल्क आँखापरीक्षण शिविर सञ्चालन गरेको थियो । विश्व स्वास्थ्य संगठन स्पेश २०३० कार्यक्रमअन्तर्गत हेटौंडा सामुदायिक आँखा अस्पतालको टोलीले वडाका विभिन्न टोलमा कात्तिक २८, २९ र ३० गते निःशुल्क आँखापरीक्षण शिविर सञ्चालन गरेको हो ।

शिविरमा ४ सय ४ जना पुरुष र ५ सय ३७ जना महिला गरी ९ सय ४१ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये ३ सय १६ जनालाई चस्मा र अन्य सामान्य समस्या भएकालाई निःशुल्क औषधि वितरण गरिएको थियो । ३१ जना मोतिबिन्दुको बिरामी फेलापरेको स्वास्थ्यप्रमुख प्रजापतीले बताइन् । तीमध्ये शल्यक्रिया गराउन इच्छुक भएका ७ जनाको शुक्रबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*