एमसिए–नेपालद्वारा न्यु बुटवल १८ किमि प्रशारण लाइन निर्माणको थालनी
हेटौंडा-मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रशारण लाइन निर्माणकार्यको औपचारिक थालनी गरेको छ ।नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुनवलमा आयोजित एक समारोहबीच एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच ऊर्जा व्यापारका लागि अन्तरसम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदुत डिनआर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए नेपालका कार्यकारीनिर्देशक खड्ग बहादुर विष्टलगायतको सहभागीतामा निर्माण थालनी गरिएको हो ।
कार्यक्रममा मन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि र दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने नेपाल सरकारको सशक्त प्रतिवद्धता रहने बताए । १८ किमि प्रशारण लाइनले ४०० केभी न्यु बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्ने करिव पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशक भित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन २०२४ अन्तर्गत स्वच्छ जलविद्युत भारत निर्यात गर्नमा नेपाललाई सघाउ पु¥याउने एमासीए नेपालले विश्वास लिएको छ ।
आयोजना सम्पन्न भएपछि यसले देशका लागि विद्युत आपूर्ति थप भरपर्दो बनाउनुका साथै विद्युत चुहावट घटाउने एमसीए नेपालले विज्ञप्तीमार्फत दाबी गरेको छ । नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउने महत्वपूर्ण भूमिका खेल्नेछ, जसबाट व्यवसाय सञ्चालन खर्च घट्ने, नयाँ निजीलगानी आकर्षित हुने र राष्ट्रिय विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने थप राजश्व आर्जन हुने अपेक्षा एमसीए नेपालले गरेको छ ।







