बस्तीपुर–भुन्द्रुङ जोड्ने राप्तीखोला पुल उदघाटन

साझाकुरा
२०८२ मंसिर १५, आईतवार ११:३४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल शनिबार उदघाटन गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको पुल बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा तथा १०३ वर्षीया स्थानीय वृद्धा सरस्वती अर्यालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले संघीय व्यवस्थाले जनताको लागि धेरै काम गर्न थालेको चर्चा गरे । निर्वाचन घोषणा भइसकेको अवस्थामा जनताले मन परेका पार्टी र उम्मेदवारलाई स्वतन्त्ररुपमा मतदिनसक्ने अवसर लोकतन्त्रको सबैभन्दा ठुलो उपलब्धि भएको उनले बताए ।

मुख्यमन्त्री बानियाँले भ्रम फैलाउने तथा गलत काम गर्ने प्रवृत्तिलाई अब नेपालले धेरै समय सहन नसक्ने स्पष्ट पारे । राणा शासनदेखि सुरु भएको राजनीतिक यात्राले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा अबको आवश्यकता सुधार र परिमार्जन मात्र रहेको उनको भनाई छ । यसक्रममा उनले जनप्रतिनिधिको संख्या तथा पालिकाको संख्या समायोजन गर्ने प्रस्ताव पनि प्रस्तुत गरे । मुख्यमन्त्री बानियाँले समग्र विकाससँगै जनताको जीवनस्तर उकास्न रोजगारीमुखी कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै कृषिजन्य उत्पादनलाई सीप, तालिम र प्रविधिसँग जोड्न स्थानीय तहलाई आग्रह गरे ।

गाउँघरमा बसोवास गर्ने युवायुवतीलाई सहलगानीमा रोजगारीमा जोड्न आगामी बजेटमार्फत प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता उनले जनाए । ‘बाटो बनेपछि सुविधा पुगेको छ, उत्पादन बजारसम्म लग्न सजिलो भएको छ, अब उत्पादनलाई आधुनिक बनाउँदै आयवृद्धिमा जनतालाई जोड्नु हाम्रो जिम्मेवारी हो’ मुख्यमन्त्री बानियाँले भने । राप्तीखोला पुल निर्माणका लागि लागत अनुमान ३२ करोड १२ लाख ३७ हजार २६९ रुपैयाँ रहेकोमा मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सीसहित २९ करोड ५९ लाख ३८ हजार ५ सय रुपैयाँमा निर्माण सम्झौता भएको थियो । काठमाडौंको हिराचन कन्स्ट्रक्सन कम्पनी प्रालिले २०८० साल वैशाख ११ गते सम्झौता गरी २०८३ वैशाख १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*