औषधि व्यवसायी आन्दोलित : आज एक घण्टा औषधि पसल बन्द हुने

साझाकुरा
२०८२ मंसिर १५, आईतवार ११:३७

हेटौंडा- व्यवसाय नवीकरणमा ढिलाई गरे व्यावसायिक संस्था नै खारेज हुने व्यवस्था गरेको विरोध जनाउँदै औषधि व्यवसायी आन्दोलित भएका छन् । संघीय सरकारले औषधि ऐन–२०३५ मा संशोधन गरेर औषधि पसल÷फर्म दर्ता नवीकरण गर्ने म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना तथा नवीकरण नगरिएको ३१ औं दिनपछि औषधि पसल÷फर्म स्वतःखारेज हुने व्यवस्था गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् । औषधि व्यवसायी संघले मंसिर २ गते औषधि व्यवस्था विभागका महानिर्देशकमार्फत् स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

औषधि व्यवसायी संघसँगै नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत औषधि व्यवसायीले आज (आइतबार) एक घण्टा औषधि पसल बन्द गर्ने जनाएको छ ।औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठका अनुसार व्यवसाय नवीकरणमा ढिलाई हुँदा शतप्रतिशत जरिवाना र थप ढिलाई हुँदा व्यवसायको दर्ता नै खारेज हुने प्रावधान व्यवहारिक नभएको उल्लेख गरे । सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको र आन्दोलन चरणबद्ध रुपमा अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । केन्द्रले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत् आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एकघण्टा औषधि पसल बन्द रहने श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*