फरार कैदीद्वारा चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ
हेटौंडा, १३ मंसिर÷ जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका कैदीद्वारा चोरी गरी बिक्री गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–७ हरियालीस्थित सडकखण्डमा नियमित जाँचका क्रममा प्रहरी टोलीले बा ४० प ४२९५ नम्बरको मोटरसाइकल चलाइरहेका हेटौंडा–१५ भोर्ले बस्ने २१ वर्षीय अभिषेक वाइबालाई रोकेर जाँच गर्दा मोटरसाइकलको कुनै कागजपत्र नपाएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
थप अनुसन्धानमा उक्त मोटरसाइकल त्यही स्थानका २६ वर्षीय राजेश खातीले बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । राजेश खाती भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धराबाट भागी फरार रहेका व्यक्ति भएको पुष्टि भएको छ । फरार सूचीमा रहेका खातीलाई प्रहरीले पछिल्लो समयमा पुनः पक्राउ गरी कारागार कार्यालयमा बुझाइसकेको जनाइएको छ ।







