हाजिरीजवाफमा तुलसीमेहर प्रथम
हेटौंडा- जनप्रिय माध्यमिक विद्यालयको ५० औँ वर्ष पूरा गरेको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा तुलसीमेहर मेमोरियल मावि प्रथम भएको छ ।स्वर्ण महोत्सव अन्तर्गत स्व. मोहनचन्द्र चौलागाईँ स्मृति रनिङ्शिल्ड हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय माविको आयोजना र रेडक्रस हटिया उपशाखाको प्रायोजनमा सञ्चालन भएको हो ।कार्यक्रममा तुलसीमेहर मेमोरियल माविका दीप्ती क्षेत्री र रेमिन्स ढुंगाना, हेटौंडा एकेडेमीका आध्या भट्टराई र ज्वनिस्मा बिडारी तथा ज्योति माविका प्रतिष्ठा श्रेष्ठ र रोहित घर्तीमगरको टोली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका हुन् । हेटौंडा उपमहानगरका कूल १४ विद्यालय सहभागी प्रतियोगितालाई बहुवैकल्पिक प्रश्नोत्तर परीक्षा र सामूहिक परीक्षण गरी २ चरणमा गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी सभाध्यक्षतामा आयोजित कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।
जनप्रिय मावि अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले संयोजन गरेका हाजिरीजवाफ प्रतियोगितामा स्व.मोहनचन्द्र चौलागाईँका परिवार, रेडक्रसमा आबद्ध प्रतिनिधि, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयभित्र माध्यमिकस्तरीय कविता, रक्तदान कार्यक्रम, विविध खेलकूद प्रतियोगिता आयोजना गरिएकोमा विद्यालयको गरिमालाई अझ उजागर गर्न नगरस्तरीय तथा जिल्लास्तरीय प्रतियोगितामा समेत विद्यालयले जोड दिँदै गइरहेको संयोजक श्रेष्ठले बताए ।स्वर्ण महोत्सवको अवसरमा जनप्रिय माविले अक्षयकोष स्थापनाका क्रममा ३० लाख रुपैयाँ बराबरको कोष तयार गर्दैछ भने विद्यालय हाताभित्र स्तम्भ निर्माण गरिएको र जनप्रिय स्मारिका भोल्युम २ प्रकाशनार्थ रहेको प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिए ।







