मकवानपुर बहुमुखी क्याम्पसले ‘हल्ट प्राइज’ प्रतियोगिता गर्दै

साझाकुरा
२०८२ पुष १२, शनिबार १३:५३

हेटौंडा- हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले ‘हल्ट प्राइज’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।क्यामपसमा करिब पाँच वर्षपछि आयोजना हुने भएको यस कार्यक्रममा सहभागी हुनका लागि शुक्रबारदेखि रजिष्ट्रेसन फारम खुल्ला गरिएको हल्ट प्राइज प्रतियोगिता २०२५÷२६ का निर्देशक रिजन इटेनीले जानकारी दिए । हरेक वर्ष आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको तयारीका लागि यसवर्ष मकवानपुरबाट वनविज्ञान अध्ययन संस्थान, (इन्स्टिच्युट अफ फरेष्ट्री, हेटौंडा) र मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले ‘अनक्याम्पस प्रतियोगिता’ आयोजना गर्न लागेको हो । आगामी माघको अन्तिमसाता वा फाल्गुनको पहिलो सातामा हुने ग्रान्ड फिनालेका लागि तयारी तीव्र रुपमा अघि बढाइरहेको क्याम्पस निर्देशक इटेनीले जानकारी दिए ।

प्रतियोगितामा इच्छुक स्नात्तक वा स्नातकोत्तर तह अध्ययन गरिरहेका जुनसुकै विद्यार्थीले पनि सहभागिता जनाउन सक्नेछन् । प्रत्येक समूहमा कम्तिमा दुई वा बढीमा चारजना विद्यार्थी सहभागी हुन पाउनेछन् । विद्यार्थीले खाद्य सुरक्षा, खानेपानी सहज पहुँच, ऊर्जा, लै·िक समानता, भूमी र शिक्षा जस्ता १७ वटा महत्वपूर्ण सामाजिक र विश्वव्यापी विषय सम्बन्धित समस्या समाधान र उद्यमबारे प्रस्तुती दिन सक्नेछन् । जसमा प्रस्तुतीका आधारमा अन्तिममा तीन प्रतीस्पर्धी समूहलाई छनोट गरेर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइनेछ ।

उनका अनुसार क्याम्पसले यसअघि २०२० मा यस प्रतियोगिताको आयोजना गरेको थियो । यसवर्षको संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मकवानपुर क्याम्पसमा हल्ट प्राइज १६ सदस्यीय आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताले विद्यार्थीमा नवीनतम सोचको विकास गर्ने, उद्यमशीलतामा जोड दिने र सामाजिक क्रियाकलापमा प्रभाव पार्ने योजना ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इटेनीले बताए । यसले विद्यार्थीलाई जटिल समस्यासँग जुध्न सघाउ पु¥याउने उनले उल्लेख गरे ।

उनले भने ‘क्याम्पस लेभलका विद्यार्थी आफैं केहि गरौं, व्यापार गरौं भन्ने सोच सिर्जना गर्नुहुन्छ । तर, त्यसमा लागानी गर्ने र सहि मार्गनिर्देशनको अभावले उहाँहरु पछि पर्नुहुन्छ । यसखालको प्रतियोगिताले उहाँहरुको सपना पूरा गर्नुका साथै प्रतिस्पर्धामक भावनाको विकास गर्छ भन्ने हाम्रो मूल अपेक्षा हो ।’ उनले भने ‘सहभागी विद्यार्थीले प्रस्तुत गर्नुभएको विचारले विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्नुपर्छ भने संयुक्त राष्ट्रसंघको कम्तिमा एउटा दिगो विकास लक्ष्यसँग आधारित हुनुपर्छ ।’

उनका अनुसार ‘हल्ट प्राइज’ हरेकवर्ष आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुका साथै १ मिलियन अमेरिकी डलरलाई सुनिश्चित गर्ने अवसर हात पार्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*