बाह्रखरी कथा प्रतियोगितामा मकवानपुरका शाही प्रथम
हेटौंडा- ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ मा मकवानपुरका शिवराज शाही प्रथम भएका छन् ।बाह्रखरी मिडियाको आयोजनामा भएको कथा प्रतियोगितामा शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउटा’ कथाले प्रथम स्थाल हासिल गरेको हो । शाही हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा दास्रो वर्षमा अध्ययनरत छन् । प्रथम भएका शाहीले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ कथा दोस्रो र इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ कथाले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्ने कथाकारले क्रमशः १ लाख र ६० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।
बाह्रखरी मिडियाको आयोजनामा काठमाडौंमा भएको उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले विजेतालाई पुरस्कार हस्तान्तरण गरेकी हुन् । प्रतियोगितामा नेपालसहित विभिन्न दशभन्दा बढी मुलुकबाट १ हजार १ सय ६८ वटा कथाकारको सहभागिता थियो । प्रतियोगितामा नेपालसहित भारत, चीन, युएई, अमेरिका, जापान, बेलायत, कतार, क्यानडा, स्पेन, फिनल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलियालगायत देशमा बसोबास गर्ने नेपालीभाषि कथाकारले भाग लिएको थिए । बाह्रखरीले उत्कृष्ट २५ कथा छनोट गरी अन्तिममा उत्कृष्ट तीन छनोट गरेको हो ।







