हेटौंडामा १२ औँ सडक खाना महोत्सव सुरु

साझाकुरा
२०८२ पुष १४, सोमबार ०९:४६

हेटौंडा- मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजनामा १२ औँ सडक खाना महोत्सव आइतबारदेखि हेटौंडामा सुरु भएको छ । ‘सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने आकर्षक नारासहित सुरु भएको यो महोत्सव पुस १६ गतेसम्म चार दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले सडक खाना महोत्सवले हेटौंडाको पहिचानलाई थप बलियो बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मकवानपुर होटल एसोसिएसनका अध्यक्ष दिलिशगोविन्द जोशीले जानकारी दिए ।

महोत्सव हुप्रचौरको खेलमैदानदेखि पूर्वतर्फ फैलिएको उत्तर–दक्षिण सडकक्षेत्रमा आयोजना गरिएको छ । खाना महोत्सवमा पूर्वी नेपालको प्रख्यात परिकार भक्कादेखि नेवार समुदायमा प्रचलित योमरी, बारालगायत विभिन्न मौलिक तथा परम्परागत परिकारका स्टल राखिएका छन् । महोत्सवमा हाल ४७ वटा स्टल सञ्चालनमा रहेका छन् । यसका साथै बालबालिकाका लागि खेलउद्यान, हस्तकलाका सामग्रीका स्टलहरु पनि राखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि अनुमानित १५ लाख ७२ हजार रुपैयाँ खर्च लाग्नेछ भने महोत्सवबाट ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा हेटौंडा तथा मकवानपुर जिल्लाका साथै बाहिरी जिल्लाबाट र सीमावर्ती छिमेकी भारतबाट अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ । महोत्सव सफल बनाउन हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ तथा संस्कृति तथा पर्यटन मन्त्रालयबाट १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । महोत्सवअवधिभर दर्शकलाई मनोरञ्जन प्रदान गर्न स्थानीय तथा राष्ट्रिय कलाकारको नृत्य, गायन तथा ब्याण्ड प्रस्तुति रहनेछ ।

उद्घाटन समारोहमा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, हेटौंडा–११ का वडाअध्यक्ष जुना दाहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*