कमीकमजोरीलाई सुधार्दै अघि बढ्नु सरकारको दायित्वः मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नु सरकारको मुख्य दायित्व भएको बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकद्वारा आयोजित संघ, प्रदेश र स्थानीय तहबीचको विषयगत समन्वय तथा सहजीकरण कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेट प्रणालीलाई थप व्यवस्थित बनाउँदै प्रदेशभित्र निर्वाचित जनप्रतिनिधिको समन्वयमा योजना छनोट गरिने स्पष्ट पारे ।
मुख्यमन्त्री बानियाँले आगामी वर्षको बजेट प्रदेशभित्रका स्थानीय तहले छनोट गरेका योजना बाहिर नजाने गरी व्यवस्थापन गरिने विश्वास दिलाए । उनले बजेट विनियोजनमा कुनै पनि राजनीतिक दबाब वा प्रभाव नहुने र जनताको वास्तविक आवश्यकता तथा अभावलाई आधार बनाएर स्थानीय तहसँग सम्बन्धित प्रदेशका निर्वाचित प्रतिनिधिको समन्वयमा योजना छनोट प्रक्रिया अघि बढाइने बताए ।
उनले बजेट बाहिरबाट आउने भन्ने आशंका निराधार भएको स्पष्ट गर्दै विगतका समस्या समाधान गर्दै लैजानु बागमती प्रदेश सरकारको प्रमुख जिम्मेवारी भएको दाबी गरे । मुख्यमन्त्री बानियाँले सडक, खानेपानी, कृषिलगायतका क्षेत्रमा देखिएका समस्या समाधान गर्न यसवर्ष विपद् व्यवस्थापनमार्फत् जति सकिन्छ त्यति काम गरिने र अत्यावश्यक योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखी छिटो निर्णय गर्ने जानकारी दिए । आउँदो आर्थिक वर्षका लागि स्थानीय तहले आफ्नै क्षमताले सम्पन्न गर्न नसक्ने योजना तथा कार्यक्रम प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्ने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले तीन तहबीच समन्वयको आवश्यकता महसुस गरेरै जिल्ला समन्वय समितिको संरचना राखिएको दाबी गरे । योजना कार्यान्वयनका सम्बन्धमा स्थानीय तह प्रदेश सरकारबीच केही मतभेद भएको हुनसक्ने भन्दै उनले यस्ता विषय संवादबाट टुंग्याउनुपर्ने बताए । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले विपदबाट क्षतिग्रस्त जिल्लाको पुननिर्माणको लागि सहयोग गर्न प्रदेश सरकारलाई अनुरोध गरे । प्रदेश सरकारका जिल्लास्थित संरचना एकीकरण (मर्ज)गर्न अनुरोध गर्दै उनले त्यसको सञ्चालन खर्च विकास बजेटमा लगाउन सकिने तर्क गरे ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जनताले छाम्दा सुन्दा खोज्दा भेटिने सरकार खोजेको भन्दै सेवाप्रवाह प्रभावकारी बनाउन भूमिका खेलिरहेको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दीपक ढकालले तीन तहका सरकारबीच समन्वयको काम समन्वय परिषद् मार्फत् भइरहेको बताए । कार्यक्रममा काभ्रे जिल्लाका स्थानीय तहका प्रमुखले बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई गुनासो नै गुनासो पोखेका छन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले गतवर्षका विपदका कारण बगाएको थान्सिङ पुल समयमा नबन्दा नमोबुद्ध, रोशी, महाभारत, खानीखोला लगायत स्थानीय तहका बासिन्दा प्रभावित भएको भन्दै तत्काल निर्माण थाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
पाँचखाल नगरप्रमुख महेश खरेलले युवालाई विदेश जान रोक्ने गरी योजना ल्याउन अनुरोध गर्दै पाँचखालमा सुरु भएको हरित महिला औद्योगिक ग्राम लगायत योजनामा सहकार्य गर्न अनुरोध गरे । मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाईबाले विधिवत संरचनाभन्दा बाहेकबाट आएका योजनामा बजेट विनियोजन नगर्न अनुरोध गर्दै स्थानीय तह ५० प्रतिशत साझेदारी गर्न तयार रहेको बताए । बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले प्रत्येक वर्ष विपदका कारण खानेपानीमा क्षति पुगेको भन्दै बनेपा नगरवासी काकाकुल बन्ने अवस्था आएकाले सहयोगको लागि प्रदेश सरकारलाई अनुरोध गरे ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले स्थानीय तह सबलीकरणको योजना ल्याउन प्रदेश सरकारलाई अनुरोध गर्दै खानीखोलाबाट हेटौडा जोड्ने सडक, सिक्रेदोभान पुल निर्माण अलपत्र परेको भन्दै तत्काल निर्माण थाल्न अनुरोध गरे । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विपदबाट प्रभावित गाउँपालिकालाई तत्काल बजेट व्यवस्थापन गर्न अनुरोध गर्दै पालिका जोड्ने सडक निर्माणमा तदारुकता दिन अनुरोध गरे । चौरिदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले आफ्नो पालिकाको पाँचवटा वडा सुख्खाग्रस्त रहेको भन्दै सिँचाइको व्यवस्था गर्न अलपत्र अस्पताल निर्माण सम्पन्न गर्न र खहरेघाट पुल सम्पन्न गर्न ध्यानाकर्षण गराइन् ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विगतमा आश्वासन मात्र पाएकोले पूरा गर्न अनुरोध गर्दै महाभारत गाउँपालिका जोड्ने रोशीको थानसिङ पुल निर्माण तत्काल थाल्न अनुरोध गरे । भुम्लू गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले विपदपछि क्षतविक्षत खानेपानी योजनालाई बजेट व्यवस्थापन गरी पूरा गर्न अनुरोध गरे । धुलिखेल नगरउपप्रमुख नीराजन जंगमले प्रदेश सरकारका केही योजना दोहोरिएर आएपनि सम्पन्न गर्न बजेट अपर्याप्त रहेको भन्दै केही योजना कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको बताए ।
मण्डन देउपुर नगरउपप्रमुख विष्णुमणि नेपालले टिपरको ओभरलोड र पानी चुहाउने समस्याको कारण सडक चाँडै बिग्रेको भन्दै प्रदेशका जिल्लामा समन्वय गर्न अनुरोध गरे । मण्डन देउपुर नगरका प्रमुख प्रशासकीयअधिकृत अमृतकुमार धितालले चौथो तहको दरवन्दी कायम नहुँदा स्वास्थ्य सेवामा जनशक्ति व्यवस्थापन गर्न असहज भएको तर्क गरे ।







