प्रतिनिधिसभा चुनावको लागि मकवानपुरमा आज मनोनयन दर्ता हुँदै

दलहरुले उम्मेदवारको टुंगो लगाए
साझाकुरा
२०८२ माघ ७, मंगलवार १०:०२

हेटौंडा- आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मकवानपुरमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा आज मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ । माघ २ गते नै हेटौंडा–११ स्थित प्रादेशिक कृषि थोकबजारमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले पनि उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरेको थियो । सबैभन्दा पहिले बिहान मंगोलियन नेशनल अर्गनाइजेसनलाई १० देखि ११ बजेसम्म समय तोकिएको छ ।

त्यसपछि रास्वपालाई ११ देखि १२ र एमालेलाई १२ देखि १ बजेसम्म निर्धारण गरिएको छ । राप्रपालाई १ देखि २ बजेभित्र उम्मेदवारी दर्ता गर्न भनिएको छ । नेपाली कम्युनिष्ट पार्टीका लागि २ देखि ३ बजेसम्म समय छुट्याइएको छ । कांग्रेसलाई ३ देखि ४ र उज्यालो नेपाललाई त्यसपछि एक घण्टा समय निर्धारण गरिएको छ । स्वतन्त्र उम्मेदवारले बिहान १० देखि ५ बजेसम्म जुनसुकै समयमा पनि मनोनयन गर्न सक्ने व्यवस्था मिलाइएको छ । मनोनयन दर्ता गराउन आउने उम्मेदवारसहित १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ ।

निर्वाचन कार्यसम्पादन गर्नको लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधीवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा श्रेष्ठ र निर्वाचन क्षेत्र २ मा आचार्यलाई खटाइएको हो । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाता सहभागी हुनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुरमा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ कायम रहेको हो ।मकवानपुरमा १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदानस्थल र १९६ मतदान केन्द्र रहेका छन् ।

दलहरुले उम्मेदवारको टुंगो लगाए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा दलहरुले उम्मेदवारको टुंगो लगाएको हो । नेकपा एमालेको तर्फबाट क्षेत्र नं. १ मा रामेश्वर राना र क्षेत्र नं. २ मा महेश बर्तौला उम्मेदवार बन्ने भएका छन् । गत २०७९ को निर्वाचनमा क्षेत्र नं. १ मा राप्रपाका नेता कमल थापाले सर्यूचिन्हबाट चुनाव लडेपछि रानाले पाएको टिकट अन्तिम समय खोसिएको थियो भने क्षेत्र नं. २ मा बर्तौलाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडालाई पराजित गरेका थिए । खतिवडाले यसपटक चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उम्मेदवारको नाम फाइनल गरेको छ । नेकपाको तर्फबाट क्षेत्र नं. १ मा बिजय गौतमले टिकट पाउँदा क्षेत्र नं. २ मा थाहा नगरपालिका पूर्वनगरप्रमुख लवशेर विष्टले टिकट पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट क्षेत्र नं. १ मा प्रकाश गौतम र क्षेत्र नं. २ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दिने भएका छन् । राप्रपाले पनि मकवानपुरको दुईवटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । क्षेत्र नम्बर १ बाट पूर्वसांसद दीपकबहादुर सिंह उम्मेदवार बन्ने भएका छन् भने क्षेत्र नम्बर २ बाट रामबहादुर थोकर उम्मेदवार बन्ने भएका छन् ।

यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट क्षेत्र नं. १ मा विद्या श्रेष्ठले उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहित आउन अपिल गरेको छ । निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कागजात पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*