निर्वाचनको संवेदनशीलतामा सञ्चार माध्यम जिम्मेवार हुनुपर्छःबिडारी

साझाकुरा
२०८२ माघ ७, मंगलवार १०:०९

हेटौंडा, ५ माघ÷देश निर्वाचनको संघारमा प्रवेश गरिरहेको वर्तमान सन्दर्भमा सञ्चारमाध्यमले अझ जिम्मेवार, संयमित र संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम बिडारीले जोड दिएका छन् ।नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा उनले निर्वाचनजस्तो संवेदनशील समयमा सञ्चारमाध्यम सत्य, तथ्य र प्रमाणमा आधारित हुन नसके लोकतन्त्र नै प्रभावित हुने चेतावनी दिए ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बिडारीले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै व्यावसायिक पत्रकारिता गर्न आग्रह गरे । उनले भने, ‘प्रेस काउन्सिल मिडियाको संरक्षक हो तर, आवश्यक परेमा पीडित नागरिकको पक्षमा उभिनुपर्ने दायित्व पनि काउन्सिलकै हो ।’

बिडारीले संवेदनशील समयमा भ्रामक सूचना, अफवाह र अनावश्यक प्रचारबाजी बढ्ने भएकाले यो समय सञ्चारमाध्यमका लागि कडा परीक्षा हुने उल्लेख गरे । विशेषगरी डिजिटल मिडियामा आचारसंहिता उल्लंघनका घटना तुलनात्मकरुपमा बढी देखिने गरेको बताउँदै उनले यसप्रति थप सजग र जिम्मेवार हुन पत्रकारलाई आग्रह गरे । कुनै समस्या, दबाब वा अन्योलको अवस्था आएमा प्रेस काउन्सिलका फोकल पर्सनमार्फत् जानकारी गराउन पनि उनले सुझाव दिए । पत्रपत्रिका वर्गीकरणको विषयमा बिडारीले प्रेस काउन्सिल पत्रपत्रिका जोगाउने अभियानमै रहेको स्पष्ट पारे ।

वर्गीकरण प्रक्रिया प्रभावकारी, निष्पक्ष र वस्तुगत बनाउने प्रयास निरन्तर भइरहेको उल्लेख गर्दै उनले नेपाल पत्रकार महासंघसँगको भेटघाट र सहकार्यलाई अझ घनिभूत बनाइने उद्घोष गरे । कार्यक्रममा उठेका प्रश्नबारे प्रतिक्रिया दिँदै बिडारीले लोककल्याणकारी विज्ञापन, वर्गीकरण प्रक्रिया, बीमा भुक्तानी, कागजात बुझाउने झन्झट तथा विज्ञापन बोर्डको कटौतीजस्ता विषयमा छलफल र सुधार आवश्यक रहेको स्वीकार गरे । काउन्सिल केवल छलफलमै सीमित नरही कार्यान्वयनमा केन्द्रित हुने उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*