मकवानपुरमा कुनैपनि उम्मेदवारविरुद्ध परेन उजुरी
हेटौंडा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुरमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनैपनि उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार मकवानपुरको क्षेत्र नं. १ र २ का उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको हो । देशभरिका १ सय ६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र कुनै उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारीदिइन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्धारित निर्वाचन कार्यक्रमअनुसार हिजो ६ माघमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइ मनोनयपत्र दर्ता गुनभएको उम्मेदवार उपर मिति २०८२ माघ ७ गते १५ बजेसम्म उजुरी दिन सकिने व्यवस्था भएकोमा सो समयभित्र कुनैपनि उजुरी नपरेको ब्यहोरा अनुरोध गरिन्छ,’ मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भनिन् ।’
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रत्यक्षतर्फ ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको थियो भने निर्वाचन क्षेत्र नम्बर २ बाट १६ राजनीतिक दलका उम्मेदवार र ५ जना स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते साँझ ७ बजेसम्म छ भने उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम माघ ९ गते दिउँसो १ बजेसम्म रहेको छ ।
प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म र उम्मेदवारलाई निर्वाचन चिन्ह सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रदान गरिने कार्यालयले जनाएको छ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म रहेको छ ।प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुर जिल्लामा कुल मतदाता संख्या ३लाख १५ हजार ३३४ कायम रहेको हो ।
पा“च उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मंगलबार १६५ वटै निर्वाचनक्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत् ५ उजुरी दर्ता भएको जानकारी दिएको हो ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर–२ मा दुईवटा र सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक÷एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन् । उनले निर्वाचन कार्यतालिका अनुसार बिहीवार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिए । ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुईवटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक÷एक गरी जम्मा ५ वटा उजुरी परेको छ । निर्वाचन कार्यतालिकाअनुसार बिहिबार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।’
आयोगकाअनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रेशम चौधरीलगायत उम्मेदवारविरुद्ध उजुरी परेको हो । नेकपा नेता एवं पूर्वप्रधानमन्त्री नेपालले रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । उनीविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपालका कैलाली–१ का उम्मेदवार भएका रेशमलाल चौधरी विरुद्ध पनि उजुरी दर्ता भएको छ । उनी टीकापुर हत्याकान्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । तर, उनलाई राष्ट्रपतिबाट सजाय माफी दिएर छुटाइएको हो ।
त्यस्तै, सुनसरी–२ बाट रास्वपा उम्मेदवार लालबिक्रम थापा, भक्तपुर–२ बाट रास्वपा उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाटै नेपाल जनसेवा पार्टीबाट उम्मेदवार भएकी जानुका पाठकविरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिइएको छ । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।







